चेतन विष्ट, कपिलवस्तु । बिउ राख्ने समयमा प्रयाप्त पानी नपर्दा बिउ राख्नै ढिला भयो । त्यति मात्र हैन बिउ समयमा रोप्नको लागि तयार नुहँदा समयमा रोपाई पनि हुन सकेन । यस्ता विभिन्न कारणले अहिले कपिलवस्तुमा धान रोपाइँ प्रभावित बन्न पुग्यो । कतै खेत जोत्न तयार भए पनि रोप्ने पानी पुगेन, कतै बिउ राखेको खेत नै सुक्ने चिन्ता बढ्यो । तर असारको अन्तिम तिर बाट भने वर्षा भैरहेको छ ।
यि विविध कारणका बिच यस वर्ष कपिलवस्तुमा असार मसान्तसम्म जम्मा ६१ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुले जिल्लाका १० वटा स्थानीय तहका कृषि शाखाबाट संकलन गरेको तथ्यांकअनुसार शुक्रबारसम्म ६१ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण रोपाइँ पनि ढिलो सुरु भएको हो । उहाँले विगतका वर्षको तुलनामा यस पटक रोपाइँ केही कम भएको जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा कम रोपाइँ कृष्णनगर नगरपालिका र महाराजगञ्ज नगरपालिका क्षेत्रमा भएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा दक्षिणी भेगका किसान बढी प्रभावित बनेका छन । त्यसको विपरीत बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा अपेक्षाकृत राम्रो प्रगति देखिएको छ । विशेषगरी सिँचाइको सुविधा भएका उत्तरी क्षेत्रका किसानले समयमै रोपाइँ गर्न सकेका कारण त्यहाँको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।
कपिलवस्तुमा करिब ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ३१ हजार ६५९ हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ । यही कारण वर्षा ढिलो हुँदा सिँचाइ नभएका क्षेत्रका किसान प्रत्यक्ष मारमा परेका छन । प्रमुख चौधरीका अनुसार बिउ राख्ने समयमा पर्याप्त वर्षा नपर्दा धानको नर्सरी नै प्रभावित भयो, जसको असर अहिलेको रोपाइँमा देखिएको हो ।
मलको अभावबारे पनि यस वर्ष किसानले सुरुवातमै समस्या भोग्नुपरेको थियो । यद्यपि अहिले भने रासायनिक मलको व्यापक अभाव नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर किसानहरूका अनुसार मल सहज भए पनि समयमा उपलब्ध नहुनु, उन्नत जातका बिउको अभाव र स्थायी सिँचाइ व्यवस्थाको कमीले हरेक वर्ष खेती गर्न झन्झट थपिँदै गएको छ ।
उत्तरी क्षेत्रमा रहेको बाणगंगा नगरपालिका भने जिल्लाकै उत्कृष्ट अवस्थामध्ये एकमा देखिएको छ । नगर कृषि शाखा प्रमुख लेष बहादुर के.सी.का अनुसार बाणगंगामा हालसम्म करिब ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले अब केही दिनभित्रै बाँकी खेतमा पनि रोपाइँ सकिने उहाँको विश्वास छ ।
कृषकहरू भने हरेक वर्ष दोहोरिने समस्याले आफूहरू निराश बन्दै गएको बताउँछन । समयमै मल नपाउनु, उन्नत जातको बिउ सहज रूपमा उपलब्ध नहुनु, पर्याप्त सिँचाइ नहुनु र मनसुनको अनिश्चितताले उत्पादन लागत बढ्दै गएको उनीहरूको गुनासो छ ।
कपिलवस्तुमा अहिले राम, सावित्री, साभा सब–१, राधा–४, सुख्खा–२, सुख्खा–३ लगायतका उन्नत जातका धानसँगै हाइब्रिडतर्फ गोरखनाथ, यूएस–३१२, चौसठ्ठी–चौवालिस तथा रैथाने जाततर्फ कालानमक, पठनी, अनादी र सरिया धानको खेती हुँदै आएको छ । जिल्लामा धानको औसत उत्पादन प्रतिहेक्टर ३ देखि ४ मेट्रिक टन रहने कृषि कार्यालयको तथ्यांक छ।
पछिल्ला दिनमा वर्षा बढ्न थालेकाले किसानमा केही आशा पलाएको छ । अबको केही दिन मौसमले साथ दिए कपिलवस्तुका बाँकी खेत पनि हरियालीले ढाकिने अपेक्षा गरिएको छ । तर यस वर्ष असारले दिएको सन्देश भने स्पष्ट छ—जलवायुको बदलिँदो स्वरूपसँग जुध्न कृषि क्षेत्रमा दीर्घकालीन योजना र बलियो पूर्वाधार निर्माण अब विकल्प होइन, आवश्यकता बनेको छ ।

