जनहित अनलाइन, कपिलवस्तु । स्थनीय सरकार प्रत्यक्ष रुपमा जनता सगँ जोडिएको सरकार हो । यसले जनताका ससाना समस्या तथा गुनासाहरुलाई सम्बोधन गर्नुपर्ने हो । तर नेपालमा भने यसो भैरहेका हामि पाउँदैनौँ । यसै परिवेसमा अर्घाखाँचीको एउटा वडाले भने वडावासीका समस्यालाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ ले वडावासीको न्यूनतम विद्युत महसुल वडा कार्यालयले नै भुक्तानी गर्ने भएको छ । वडा कार्यालयले गरेको निर्णय अनुसार ५ एम्पियर भित्रका विद्युत ग्राहकले मासिक २० युनिटसम्मको महसुल वडाबाटै भुक्तानी पाउने वडा अध्यक्ष जम्सेर मियाले बताउनुभयो ।
वडा अध्यक्ष मियाका अनुसार यो व्यवस्था आगामी असोज १ गते देखि लागू हुने छ । यसका लागि वडाबासीले भदौ १५ गतेदेखि ३१ गतेसम्म आफ्नो ग्राहक नम्बर र नेपाली नागरिकताको प्रतिलिपि सहित वडा कार्यालयमा विवरण दर्ता गराउनु पर्नेछ ।
यस निर्णयले वडाभित्रका विपन्न तथा सामान्य परिवारलाई राहत पुग्ने र विद्युत पहुँचलाई अझ सहज बनाउन सहयोग गर्ने अपेक्षा लिएको वडा अधयक्ष जम्सेर मियाले बताउनुभयो ।


