शिवराजमा कपिलवस्तु फोटोग्राफर संघको उपसमिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्र छरिएर रहेका फोटो तथा भिडियो व्यवसायीहरूलाई एकीकृत गर्ने उद्देश्यले कपिलवस्तु फोटोग्राफर संघले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिएको छ । संघको पहलमा शिवराज नगरपालिकामा फोटो तथा भिडियो व्यवसायीहरूको भेलामार्फत तीन सदस्यीय उपसमिति गठन गरिएको छ।

संघका अध्यक्ष, निवर्तमान  अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा समिति तथा सदस्यहरूको सहकार्यमा उपसमिति गठन गरिएको हो । जसको सम्योजकमा रमेश प्रसाद मौर्या, सदस्यहरुमा छबिलाल चौधरी र रामकिशोर यादव चयन हुनुभएको छ। नवगठित उपसमितिले यस क्षेत्रका फोटो तथा भिडियो व्यवसायीहरूलाई एकीकृत गर्दै व्यवसायीका समस्या, गुनासा तथा मागहरूलाई सम्बन्धित निकायसम्म पुर्याउने, आवश्यक समन्वय गर्ने, व्यवसायमा एकरूपता कायम गर्न पहल गर्ने तथा व्यवसायीहरूको सुखदुःखमा सहकार्य गर्ने उद्देश्य लिएको छ।

त्यस्तै, विजयनगर गाउँपालिकामा पनि विभिन्न व्यवसायी साथीहरूसँग आवश्यक समन्वय तथा सहकार्यको काम अघि बढिरहेको र छिट्टै त्यहाँ पनि उपसमिति गठन गर्ने तयारी भइरहेको संघले जनाएको छ। फोटो तथा भिडियो व्यवसायीहरूको आवश्यकता र मागअनुसार विभिन्न तालिम, सेमिनार, गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै व्यवसाय प्रवर्द्धन र पेशागत क्षमता अभिवृद्धिका लागि संघ निरन्तर अगाडि बढ्ने जनाएको छ।

यसै क्रममा १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा आगामी भदौ ३ गते खुला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको छ। साथै, भदौ ६ गते कपिलवस्तु फोटोग्राफर संघको स्थापना दिवसको अवसरमा फोटोसम्बन्धी विभिन्न कार्यक्रम तथा भावी कार्ययोजना सञ्चालन गर्ने तयारी भइरहेको संघले जनाएको छ। जिल्लाभर रहेका सम्पूर्ण फोटो तथा भिडियो व्यवसायीहरूलाई एकताबद्ध गर्दै एकता, सहकार्य र व्यवसायिक हितलाई मुख्य आधार बनाएर अघि बढ्ने उद्देश्यसहित संघले सबै व्यवसायी साथीहरूलाई संस्थामा आबद्ध भई सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *