शितगंगा नगरपालिका: आर्थिक अभावले उपचार नपाएका ६ वर्षीय बालकको उद्धार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । आर्थिक अभावका कारण लामो समयसम्म उचित उपचार नपाएका शितगङ्गा नगरपालिकाका ६ वर्षीय बालकको नगरपालिकाले तत्काल उद्धार गर्दै थप उपचारको व्यवस्था गरेको छ। शितगङ्गा नगरपालिका–९ सिद्धारा निवासी हिम्मत पोखरेल करिब पाँच महिनादेखि लगातार ज्वरोबाट पीडित भए पनि कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

बालकका बुवा गणेश पोखरेलका अनुसार छोराको यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएको भए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि समस्या झनै जटिल बनेको हो। आर्थिक कठिनाइका कारण निरन्तर औषधोपचार र आवश्यक परीक्षण गर्न नसकिएको उनले बताए।

स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि अभिभावकले बालकलाई शितगङ्गा नगरपालिका अन्तर्गतको ठाडा प्राथमिक उपचार केन्द्रमा ल्याएका थिए। प्रारम्भिक जाँचका क्रममा बालकको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बुटवलस्थित आम्दा बाल अस्पताल रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले जानकारी दिए।

बालकको गम्भीर अवस्थाबारे जानकारी पाएलगत्तै शितगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तत्काल १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउनुका साथै एम्बुलेन्समार्फत बुटवल पठाउने व्यवस्था मिलाएका थिए। साथै, स्वास्थ्य शाखाले सम्बन्धित चिकित्सकसँग समन्वय गरी समयमै उपचार सुनिश्चित गरेको जनाएको छ।

यसैबीच अर्घाखाँची जाने क्रममा बालकको अवस्था प्रत्यक्ष देखेपछि काठमाडौंका युवा समाजसेवी तुरुप सङ्ग्रौलाले मानवीय आधारमा सक्दो आर्थिक सहयोग गरेका छन्। नगरपालिकाको तत्परता र सहयोगी हातहरूको पहलले बालकको जीवन जोगिने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *