शव भेटिएको ४५ दिनपछि ईशानको अन्त्येष्टि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको शव ४५ दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेको छ।ईशानको मृत्यु रहस्यमय भएको भन्दै प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै परिवारले लामो समयदेखि शव बुझ्न अस्वीकार गर्दै आएको थियो।

प्रहरीको अनुसन्धानले ईशानको मृत्यु सडक दुर्घटनाबाट भएको निष्कर्ष निकालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढेपछि परिवारजन शव बुझ्न तयार भएका हुन्।प्रहरीका अनुसार गत पुस २ गते लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा ईशानको मृत्यु भएको खुलेको हो। घटनापछि गाडी र चालकलाई फरार गराउन सहयोग गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।

ठक्कर दिने चालक र फरार गराउन सहयोग गर्ने अन्य तीन जना गरी चारै जनालाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश ईन्द्रबहादुर कठायतको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेपछि पीडित परिवारले शव बुझेका हुन्।

गत पुस २ गते साँझ सधैँ झैँ विद्यालयमा तेक्वान्दो सिकाएर ईशान घर फर्किएका थिए। साँझ साढे ५ बजेतिर साथीसँग जिम जाने भन्दै घरबाट निस्किएका उनी थकाली चोकतिर लागेका थिए।

सिसिटिभी फुटेजमा देखिए अनुसार, सोही दिन साँझ ७ बजेर ४२ मिनेट जाँदा उनी रुद्रपुरकै सुनगाभा चोकबाट साथीसँग बिदा भएका थिए। त्यसपछि हातमा जुत्ता बोकेर सडकको किनारै-किनार घरतर्फ जाँदै गरेका उनी त्यसपछि कहिल्यै घर फर्किएनन्।

अभियोग-पत्रमा कञ्चन गाउँपालिका-४ का २४ वर्षीय चालक सन्तोष क्षेत्री, सोही ठाउँका २२ वर्षीय सन्देश क्षेत्री, सैनामैना-५ का २२ वर्षीय दिपेन्द्र भण्डारी र सवारी धनी बाग्लुङका २५ वर्षीय सुवास शर्मालाई प्रतिवादी बनाइएको छ।

अभियोग-पत्रमा उल्लेखित तथ्य अनुसार, गत पुस २ गते साँझ ७:४३ बजे लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले पैदल यात्री ईशानलाई ठक्कर दिएको थियो।

ठक्कर दिएपछि घाइतेलाई अस्पताल लैजानुको सट्टा चालक र अन्य सहभागीले लुकाउने नियत राखेको देखिन्छ।

ईशानको शव सडक छेउको नालीमा ६ फिट भित्रसम्म घुसारेर माथिबाट सिमेन्टको ढक्कन (स्ल्याब)ले छोपिएको अवस्थामा फेला परेको थियो।

‘शवलाई नियतवश लुकाउने र दुर्घटनालाई दबाउने उद्देश्यले नालीमा हालेर ढक्कनले छोपिएको’ दाबी अभियोग-पत्रमा गरिएको छ।

दुर्घटनापछि गाडीको अगाडिको सिसा र हेडलाइट फुटेको थियो। अभियुक्तहरूले सोही रात गाडीलाई बुटवलस्थित ‘मैनाबगर ग्यारेज’मा पुर्याएर मर्मत गराई प्रमाण मेटाउन खोजेका थिए।

प्रहरीले सिसाका टुक्राहरू र सिसीटिभी फुटेजको प्राविधिक विश्लेषणबाट गाडी र संलग्न व्यक्तिहरूको पहिचान गरेको हो।

शव परीक्षण प्रतिवेदन अनुसार ईशानको मृत्युको कारण ‘टाउकोको हड्डी फुट्नु र भित्र रगत जम्नु’ देखिएको छ। शरीरका विभिन्न भागमा चोटपटक र निलडाम समेत फेला परेको थियो।

सरकारी वकीलले प्रतिवादीहरूविरुद्ध लापरवाहीपूर्वक सवारी चलाई मानिसको मृत्यु गराएकोमा ३ देखि १० वर्षसम्म कैद र ३० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना तथा कसूरको प्रमाण दबाउन वा नष्ट गर्न खोजेकोमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *