भैरहवा । नियम विपरीत क्यासिनो सञ्चालन गरेको र सञ्चालकले अकुत सम्पत्ति आर्जन गरेको विषयबारेमा रुपन्देहीमा सञ्चालित ६ वटा मिनी क्यासिनोमाथि अनुसन्धान सुरु भएको छ ।
अनुसन्धानमा परेका क्यासिनोमा भैरहवास्थित होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर ग्यामिङ क्लव, नान्स होटलमा सञ्चालित प्याराडाइज, निर्वाणामा सञ्चालित गोल्डेन स्टार, मौर्य होटलमा सञ्चालित ग्याबलिङ ग्यालेक्सी, एसियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट र मणिग्रामको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सञ्चालित सीएमजी क्यासिनो छन् ।
यी क्यासिनोहरु नियम विपरीत सञ्चालन भएको र सञ्चालकले अकुत सम्पत्ति आर्जन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा आयोगले वास्तविकता बुझी अनुसन्धान प्रतिवेदन पठाउन गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।
गृहले ती क्यासिनोबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई निर्देशसहितको पत्राचार गरेपछि अनुसन्धान थालिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गृह मन्त्रालयको निर्देशन अनुरूप ती क्यासिनोमाथि छानबिन तथा अनुसन्धान जारी राखिएको बताए । कुन कुन विषयका बारेमा छानबिन तथा अनुसन्धान भइरहेको छ रु भन्ने बारेमा भने उनले धेरै कुरा बताउन तत्काल नमिल्ने बताए ।
क्यासिनो सञ्चालनका लागि निर्धारित मापदण्ड मिचेर सञ्चालन गर्ने गरिएको, सरकारलाई तिर्नु पर्ने करोडौँ राजश्व नतिरी अदालतको स्टेअर्डरको आधारमा सञ्चालन गर्ने गरिएको, नक्कली भारतीय आधार कार्ड बनाएर नेपालीलाई खेलाउने गरिएको, कानुन विपरीत जुवा खेलाउने गरेको, हुन्डी कारोबारमा संलग्न भएको, कर छलीको भारतीय मदिरा प्रयोग गरेको, नेपालमा प्रतिबन्धित भारतीय नोटको कारोबार गरिरहेको लगायतका आरोप यहाँका क्यासिनोमाथि छ ।
निर्धारित मापदण्ड र कानुन विपरीत बर्सौँ अघिदेखि यहाँका क्यासिनो सञ्चालन हुँदै आए पनि स्थानीय प्रहरी प्रशासन, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, पर्यटन विभाग लगायतका सरोकारवाला र नियमनकारी निकायमाथि पनि मौन रहने गरेको आरोप लाग्ने गरेको छ ।


