भोलि देखि बाणगंगामा राष्ट्रिय सांस्कृतिक पर्व मगर माघे महोत्सव हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा राष्ट्रिय सांस्कृतिक पर्व मगर माघे महोत्सव २०८१ हुने भएको छ । नेपाल मगर संघ बाणगङ्गा नगर समितिको आयोजनामा भोलिदेखि २ दिने महोत्सव सञ्चालन गर्न लागिएको आज सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

लोप हुँदै गैरहेको मगर धर्म संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यले यहि माघ १ र २ गते महोत्सव सञ्चालन गर्न लागिएको नेपाल मगर संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मोहन सिंजाली मगरले बताउनुभयो । पहिलो दिन १ गते मगर धर्म संस्कृतीमा आधारित रहेर विभिन्न नाच, झाकीहरु प्रस्तुत गर्ने र अर्को दिन २ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेने उहाँले बताउनुभयो । कार्यक्रमको उद्धघाटन बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले गर्नुहुने छ ।

त्यस्तै नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य विष्णु थापाले विगतमा एक दिन मात्र सानो स्वरुपमा सांस्कृतिक कार्यक्रम गरेको स्मरण गर्दै अहिले अलि भब्य रुपमा गर्न थालेको बताउनुभयो । मगर भाषा भेषभुषा र संस्कृतीलाई सबैमाझ पुर्याउन पनि आफुहरुले महोत्सव सञ्चालन गर्न थालेको थापाले बताउनुभयो ।

त्यस्तै नेपाल मगर संघ बाणगङ्गा नगर समिती अध्यक्ष यमकुमारी गाहाले सम्पुर्ण कपिलवस्तुवासीहरुलाई निम्ता गर्दै महोत्सवलाई सफल पार्न समेत आह्वान गर्नुभयो । एकअर्काको संस्कृतिलाई सम्मान गर्दै देशभित्रका हरेक धर्म संस्कृति बचाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश मुख्य सचिव कुल बहादुर सोमै, केन्द्रिय सदस्य चोपलाल राउत लगायत प्रदेश, जिल्ला र नगरका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

नेपाल मगर संघ बाणगङ्गा नगर समिति अध्यक्ष यम कुमारी गाहाको अध्यक्षतामा भएको कार्यक्रम नगर सह सचिव सोम राना मगरको स्वागत तथा सञ्चारकर्मी मिना गाहा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *