भैरहवामा अन्तर्राष्ट्रिय उडान फेरि ठप्प

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिबिआइए मा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । १ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प हुने भएको हो ।

भैरहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । तर आइतबार ३० मार्च देखि नै भैरहवामा तीनवटै वायुसेवाले आफ्नो उडान हटाएका हुन् ।

सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल चलिरहेको र छिट्टै टुंगो लगाएर नियमित उडानको प्रयास भइरहेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । तत्काललाई भने नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको उनको भनाइ छ ।

भैरहवामा अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र फ्लाई दुबईले शनिबार अन्तिम उडान गरेका थिए । थाई एयर एसियाले ११ चैतसम्म उडान गरेको थियो । नेपाल वायुसेवा निगम नेवानि ले काठमाडौं–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । निगमको जहाज भैरहवा अवतरण गरे पनि ढोका नै खोलिँदैन ।

कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरिसकेको छ । सबै वायुसेवा भैरहवा उडानका लागि तयार नभएपछि गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय कक्ष फेरि सुनसान हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *