बर्दिया । वन्यजन्तुको आक्रमणबाट बर्दियामा एकैदिन दुईजनाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगी र चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो ।
आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको पाटेबाघले आक्रमण डाँगीको मृत्यु भएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले बताए । ‘आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा बाघले आक्रमण गरी जंगलतिर लागेको थियो,’ नगरप्रमुख भाटले भने,‘खोजतलासका क्रममा खाएको अवस्थामा महिलाको शव बिहीबार साँझ फेला परेको छ ।’
मधुवन–९ का वडाअध्यक्ष हर्कबहादुर बस्नेतले खेतबारीमा काम गर्न जादाँ दिनहुँ मानवीय क्षति बेहोर्नुपरेको बताए । ‘सरकारले जंगललाई तारबार गरेर बाघ पाल्नुपर्यो, यसरी खुल्ला तरिकाले बाघ पालेर जनतालाई खुवाउने काम गर्नुभएन,’ उनले गुनासो गरे ।
रोकायको भने बारबर्दिया नगरपालिका–११ बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
चालु आर्थिक वर्षको साउनयता वन्यजन्तुको आक्रमणबाट बर्दियामा १० जनाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए ।

