नयाँ वर्ष २०८२ सुरू; देशभर हर्षोउल्लासका साथ मनाइयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं। आज देखि विक्रम संवत् २०८२ को औपचारिक शुरुवात भएको छ । वर्षको पहिलो दिन वैशाख १ गते नेपालभर नेपालीहरूबीच शुभकामना साटासाट गर्दै नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गरिएको छ।

आजको दिन ज्योतिषीय रूपमा पनि विशेष मानिन्छ । सूर्यले मीन राशिबाट आफ्नो गोचर समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिनलाई “मेष सङ्क्रान्ति” भनिन्छ, जसलाई नयाँ वर्षको थालनीको दिन पनि मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार विक्रम संवत् सूर्यको चालसँग मेल खाने भएकाले वैज्ञानिक एवं शाश्वत मानिन्छ। उनका अनुसार विक्रम संवत्को नाम सूर्यसँग सम्बन्धित ‘विक्रमादित्य’ बाट आएको हो, जसले यस संवत्लाई अन्य पात्रोहरुभन्दा फरक बनाउँछ।

वैज्ञानिक दृष्टिले हेर्दा, सूर्य जब मेष राशिमा प्रवेश गर्छ, त्यसपछि नै नयाँ वर्ष शुरू हुन्छ र जब मीन राशिबाट निस्कन्छ, त्यसपछि पुरानो वर्षको समापन हुन्छ। यस संवत्मा सौरमान र चान्द्रमानको समन्वयसमेत पाइन्छ। विद्वानहरूको भनाइ अनुसार, कलियुग सुरू भएको ३०४४ वर्षपछि विक्रम संवत्को आरम्भ भएको हो।

नयाँ वर्षको अवसरमा नेपालीहरू बिहानै स्नान गरेर घर सफा गर्ने, मठ–मन्दिर गई पूजा गर्ने, मीठा परिकार खाने तथा परिवार, साथीभाइ र आफन्तसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। नेपालभित्र मात्र नभई विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि आजको दिनलाई विशेष रूपमा मनाउने गर्दछन्।

यद्यपि चान्द्रमान अनुसार नयाँ संवत्सर भने केही दिनअघि नै शुरू भइसकेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार, चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर प्रारम्भ हुन्छ, र यस वर्ष ‘सिद्धार्थी’ नामको संवत्सर चैत १७ गतेबाट शुरू भएको छ। वैदिक परम्परा अनुसार कुल ६० संवत्सर छन्, जसमा ‘प्रभव’ पहिलो हो र अहिलेको ‘सिद्धार्थी’ ५३ औं संवत्सर मानिन्छ।

नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, आत्मविश्लेषण र नयाँ संकल्पको भावना जागृत गराओस् भन्ने शुभकामनाका साथ, २०८२ सालको मंगलमय शुरुवात देशभर उल्लासपूर्वक मनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *