कपिलवस्तु । जिल्लाको दक्षिणी भूगोलबाट चुनावी अभियान सुरु गरेका स्वतन्त्र उम्मेदवार आशिष शर्मा यतिबेला उत्तरी क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । दक्षिणी क्षेत्रमा पकड बलियो रहेको अनुमान गरिएका शर्मालाई उत्तरी भूभागमा समेत उत्साहजनक स्वागत र पुष्पगुच्छा वर्षिन थालेपछि कपिलवस्तु क्षेत्र नं. १ को चुनावी माहोल झन् रोचक बन्दै गएको छ । यससँगै चुनाव चिन्ह जिपको रफ्तार बढ्दै गएको देखिन्छ ।
स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका शर्मालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति, प्रदेश सभापति तथा विभिन्न पालिका सभापतिहरूले समेत सहयोग गर्ने निर्णय गरेपछि उनको चुनावी अभियानले नयाँ मोड लिएको छ। बाणगंगा–१ मा बसेको नेता तथा कार्यकर्ताहरूको बैठकले चुनाव चिन्ह जिप भएका स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने निर्णय गरेको एक कांग्रेस नेताले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, क्षेत्र नं. १ प्रदेश (क) सभापति दुर्गा केसी, मायादेवी गाउँपालिका सभापति शैलेन्द्र प्रसाद दुवे, सुद्धोधन गाउँपालिका सभापति विशम्भर प्रसाद कुर्मी, महाधिवेशन प्रतिनिधिहरू तथा अन्य नेता–कार्यकर्ताहरू सहभागी थिए। क्षेत्रीय सभापति अब्दुल मन्नान खाँका अनुसार बैठकले स्थानीय राजनीतिक अवस्था र जनभावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
यसअघि नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाएको थियो। क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको अध्यक्षतामा बसेको बैठकले तीन जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाइएको भए पनि निर्धारित प्रक्रिया र सिफारिसलाई बेवास्ता गर्दै केन्द्रबाट टिकट वितरण गरिएको भन्दै असन्तुष्टि जनाएको थियो ।
क्षेत्रीय सचिव कृष्ण चौधरीका अनुसार प्रक्रिया विपरीत गरिएको टिकट वितरणले नेता तथा कार्यकर्ताहरूमा निराशा र विभाजनको अवस्था सिर्जना गरेको छ। नेपाली कांग्रेस केन्द्रले पूर्व सांसद अतहर कमाल मुसलमानलाई टिकट दिएपछि क्षेत्रभित्र ध्रुवीकरण बढेको बताइएको छ ।
यही असन्तुष्टिको पृष्ठभूमिमा स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा समर्थन बढ्दै जाँदा कपिलवस्तु–१ मा जिपको रफ्तार झन् तीव्र बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। चुनावी मैदानमा देखिएको यो समीकरणले अन्तिम परिणाम कता मोडिने भन्ने चासो झन् बढाएको छ ।


