जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका कृष्ण कुँवरले जनताले अब सही र गलत व्यक्ति छुट्याएर निर्णय गर्ने समय आएको बताएका छन् । नेताले काम गरेनन् भन्दै गाली गर्नुको सट्टा चुनावमार्फत् सही व्यक्तिलाई चिनेर अनुमोदन गर्नु नै लोकतन्त्रको सबल अभ्यास हुने उनको भनाइ छ ।
वाणगंगा नगरपालिका–९ भलवाडमा मंगलबारदेखि सुरु भएको धार्मिक महायज्ञमा बोल्दै कुँवरले अहिले पनि इमान्दार र योग्य पात्रलाई नछान्ने हो भने समाज अझै पछाडि पर्ने चेतावनी दिए । उनले जनतालाई पार्टीभन्दा माथि उठेर असल, इमान्दार र काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्न आग्रह गर्दै फागुन २१ गते हुने निर्वाचनमा विवेक प्रयोग गर्न आह्वान गरे ।
“यो समाजमा इमान्दारले टिकट पाउँदैनन् भन्ने धारणा छ, तर म त्यसको उदाहरण हुँ,” उनले भने, “म कुनै रहरले उम्मेदवार बनेको होइन । जनताले ‘हजुरजत्तिको मान्छे सदनमा पुग्नुपर्छ’ भनेपछि तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको हुँ । अब भ्रष्टलाई जिताउने कि इमान्दारलाई, त्यो निर्णय जनताकै हातमा छ ।”
कुँवरले आफू सस्ता भाषण नगर्ने स्पष्ट पार्दै सस्ता भाषण दिने नेताले समाजको हित नगर्ने बताए । “म नेता जस्तो बोल्न जान्दिनँ, तर जे बोल्छु, त्यो गरेर देखाउँछु,” उनले भने ।
यसैबीच वाणगंगा नगरपालिका–९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा ७ दिवसीय श्री ब्रह्मपुराण ज्ञान महायज्ञ विधिवत् रूपमा सुरु भएको छ । धार्मिक तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको उद्घाटन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार तथा वरिष्ठ समाजसेवी कृष्ण कुँवरकी ८४ वर्षीया माता उजेली कुँवरले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।
उद्घाटन समारोहमा स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी कुँवरले कपिलधामलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लामो समयदेखि समाजसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै उनले जनताको माया, सद्भाव र विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको बताए ।
महायज्ञ मूल आयोजक समितिका संयोजक भीमप्रसाद सापकोटाका अनुसार यस पवित्र भूमिमा विगत वर्षहरूझैं यस वर्ष पनि ७ दिवसीय ज्ञान महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा आध्यात्मिक वक्ता गुरु ऋषिकेश उपाध्यायको मुखारविन्दबाट श्री ब्रह्मपुराणको प्रवचन हुनेछ ।
कार्यक्रममा कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्य, समाजसेवी शिवचन्द्र आचार्य, कपिलप्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्रबहादुर कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै धार्मिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
धामका सचिव दुर्गाप्रसाद पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम गुरु कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । आयोजकका अनुसार श्री ब्रह्मपुराण ज्ञान महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ अवधिभर दैनिक रूपमा पूजा, आरती, प्रवचन तथा भजन–कीर्तनका कार्यक्रम सञ्चालन गरिनेछन् ।

