चोरी निकासी रोक्न रुपन्देहीका उद्योग–व्यवसायीहरुको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
बुटवल । सीमा क्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलीलाई रोक्न रुपन्देहीका उद्योग–व्यवसायीले माग गरेका छन् ।

कमजोर भन्सार नियमन र खुला सीमाबाट हुने चोरी निकासी कारोबारले राजस्व सङ्कलन तथा व्यावसायिक कारोबारमा असर गरेको भन्दै भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई उनीहरूले बिहीबार ध्यानाकर्षण गराएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संघ र रुपन्देही व्यापार संघले संयुक्त रूपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दसैँ–तिहारजस्ता प्रमुख चाडमा नेपाली बजार सुनसान हुने, भारतीय बजार गुलजार हुने वातावरण सरकारी निकायको कमजोरीका कारण भएको आरोप लगाए ।

उनले देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजान भन्सार तथा खुला सीमा नियमन थप कडाइ गर्दै जान अनुरोध गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अवैध कारोबारका कारण नेपाली उद्योगहरूको उत्पादन ५० प्रतिशतमा झरेको बताउँदै सीमा नियमन कडाइ गर्दै अवैध रूपमा हुने सबै प्रकारका कारोबार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।

रुपन्देही व्यापार संघका अध्यक्ष दीपक प्रसाद अधिकारीले नेपालीहरूका प्रमुख चाडपर्वहरू नजिक आएको अवस्थामा पनि नेपाली बजार सुनसान बनेको बताउँदै सीमा क्षेत्रबाट हुने अवैध कारोबार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने बताए ।

उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले भन्सारमा कडाइ गर्न अनुरोध गरे ।

ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अवैध कारोबार र भन्सार नाकाहरूमा देखिएको सुस्तताप्रति आफू सचेत रहेको उल्लेख गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अवैध धन्दालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *