कृष्णनगर नाका : एक वर्षमा साढे १४ अर्बको आयात, ढाई अर्बको निर्यात

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  कपिलवस्तुको कृष्णनगर नाकाबाट गत आर्थिक वर्ष २०८१र८२ मा साढे १४ अर्बभन्दा बढीको सामान आयात भएको छ भने करिब ढाई अर्ब रुपैयाँ बराबरका नेपाली वस्तु भारततर्फ निर्यात भएका छन्।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार आयातको तुलनामा निर्यात निकै न्यून देखिएको छ।

कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भट्टराईका अनुसार आर्थिक वर्ष २०८१र८२ मा कुल २ अर्ब ४७ करोड ४ लाख ४६ हजार ८ सय ७० रुपैयाँ मूल्यका १० प्रमुख नेपाली वस्तु भारत निर्यात भएका छन्। सोही अवधिमा भारतबाट १४ अर्ब ५८ करोड ७३ लाख ९४ हजार रुपैयाँ बराबरका १२ प्रमुख वस्तु नेपाल भित्रिएका छन्।

निर्यातमा प्लाइउड अग्रस्थानमा

गत आर्थिक वर्षमा कृष्णनगर नाकाबाट सबैभन्दा बढी प्लाइउड निर्यात भएको छ। कुल निर्यातमा प्लाइउडको हिस्सा उल्लेख्य रहँदा १ अर्ब १४ करोड ८७ लाख ८९ हजार ८ सय ३८ रुपैयाँ बराबरको १६ लाख १४ हजार ३ सय १५ एमटीक्यु प्लाइउड भारत निकासी भएको हो।

त्यसैगरी, ७५ करोड १ लाख ४ सय ५० रुपैयाँ मूल्यको खैरो सिमेन्ट, २२ करोड ५४ लाख ४७ हजार १ सय ४ रुपैयाँको खोटो रोजिन र १३ करोड ९८ लाख ५७ हजार २ सय ६३ रुपैयाँको सिमेन्ट क्लिङ्कर निर्यात भएको छ।

अन्य निर्यात हुने प्रमुख वस्तुहरूमा तार्पिनको तेल, एसेन्सियल आयल, काठका झ्याल(ढोका, जडीबुटी, भेनियर सिट र जमोठ कपडा रहेका छन्।

आयाततर्फ सबैभन्दा बढी चामल भित्रिएको छ। गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड १९ हजार रुपैयाँको चामल कृष्णनगर नाका हुँदै आयात भएको छ।

यसैगरी, औद्योगिक कच्चा पदार्थको आयात पनि उच्च देखिएको छ। ३ अर्ब १ लाख २७ हजार रुपैयाँको कोइला र २ अर्ब ५९ करोड ११ लाख ८३ हजार रुपैयाँको शुद्ध फलाम आयात भएको तथ्याङ्कले देखाउँछ।

अन्य प्रमुख आयातित वस्तुहरूमा माल्ट, सिसाका बोतल, धातुको खरानी, आल्मुनियमका ट्याङ्की तथा ड्रम, केरा, मसला, एटीएफ, बदाम र अङ्गुर रहेका छन्।

कृष्णनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा ५ अर्ब २३ करोड २० लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकृत भट्टराईले जानकारी दिए। यो राजस्व आयातित वस्तुहरूमा लाग्ने भन्सार महसुलबाट उठेको हो।

-किरणमान बज्राचार्य /नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *