पाल्पा । अघिल्ला वर्ष काँक्रा बजार लैजान भ्याइनभ्याइ हुने तिनाउ गाउँपालिका–२ दोभान बोटेगाउँकी मनकुमारी राना यतिबेला तरकारी बारीमै व्यस्त छिन् । गत वर्ष फागुन तेस्रो साताबाट भक्तपुरे लोकल जातको काँक्रा बिक्री थालेकी उनी यस वर्ष चैत दोस्रो सातासम्म पनि बेच्न नपाउने चिन्तामा छिन् ।
पालिकाबाट अनुदानमा काँक्राको बीउ पाउने आश गर्दागर्दै एक महिना ढिलाइ भएको उनको गुनासो छ । ‘अघिल्ला वर्ष यतिबेला काँक्रा बिक्री भइसकेको थियो, यस वर्ष गाउँपालिकाको अनुदानमा बीउ पाउने भन्दाभन्दै अहिले बिक्री गर्न ढिला भइसक्यो,’ उनले भनिन् । फागुन अन्तिम साता काँक्राले बजार भाउ राम्रो पाउने गर्छ । उनका अनुसार भक्तपुरे लोकल काँक्रा ८० रुपैयाँ किलो थोकमै बिक्री गर्न सकिन्थ्यो । ‘अब हाम्रो काँक्रा बजारमा लैजाँदा ५०/६० रुपैयाँ किलोमा भाउ झरिसक्ने भयो,’ उनले भनिन् । बोटेगाउँकै भरत थापाले दुईपटक काँक्राको ब्याड लगाउँदा उमार शक्ति नभएको बीउ परेकामा अहिले ठूलो मर्का परेको बताए ।
यस वर्ष तिनाउ गाउँपालिकामा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय विशेष अनुदान कार्यक्रममा कृषक समूहमार्फत फारम भरेका थिए । गाउँका सबै किसान आबद्ध देवीस्थान कृषक समूहमार्फत बीउबिजनका लागि फारम भरेकाले अनुदानको बीउ आउनेमा ढुक्क थिए । तर उमार शक्ति नभएको बीउ पाएपछि अहिले किसान चिन्तित छन् । पहिलो पटक सप्लायर्सले वितरण गरेको १० पोका बीउ अनुदानमा पाएका थापाले राखेको व्याडमा १ प्रतिशत पनि उमार शक्ति भएन । काँक्राको बीउ ७ देखि ८ दिनमा उम्रने उनले बताए ।


