चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगंगा नगरपालिका भित्रका विद्यालय बन्द भएका छन । नगरपालिकाले आज एक सुचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामि २० गतेदेखि २५ गते सम्म नगर भित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीद्वारा हस्ताक्षरित सुचनामा वर्षे विदाबाट कट्टा हुने गरी आगामी आइतबार देखि शुक्रबार सम्मका लागि ६ दिन विदा दिने निर्णय गरिएको जनाइएको छ ।
पछिल्ला केहि दिन यता बाणगंगा सहित कपिलवस्तु र तराइ मधेशका जिल्लामा अत्याधिक रुपमा गर्मी बढीरहेको छ । आज विहिबार कपिलवस्तुको सदरमुकाम तौलिहवाको तापक्रम ४६, बाणगंगाको ४३ डिग्री सेल्सीयस भन्दा माथि पुगेको छ । तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि जनजिवन प्रभावित बनेको छ । गर्मी अझै केहि दिन बढ्ने मौसमविद्धहरुले बताएका छन ।




