कपिलवस्तु । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुमा पदभार हस्तान्तरण सम्पन्न भएको छ । शनिवार वर्ष २०२४–२५ ले वर्ष २०२५ –२६ लाई पदभार हस्तान्तरण गरेको हो । क्लबका निवर्तमान अध्यक्ष ज्ञानहरी न्यौपानेले वर्तमान अध्यक्ष गोपालप्रसाद खनाललाई पद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले स्वार्थ भन्दा माथि सेवा भन्ने उत्कृष्ट भावनाका साथ जन्मिएको रोटरी क्लबले देशका विभिन्न भागमा सेवा गरेको बताउनुभयो । क्लबले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य कार्य गरेको बताउँदै नगरभित्र यस क्लबले डायलासिस सेन्टर मार्फत यहाँका बिरामीको स्वास्थ्य सेवामा विशेष सहयोग गरेको बताउँदै वर्तमान कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा २२ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा गोपालप्रसाद खनाल संस्थापक अध्यक्ष धर्मराज भट्टराई पूर्व अध्यक्ष माधवभाट क्षेत्री प्रेसिडेन्ट इलेक्ट कृष्णप्रसाद भट्टराई प्रेसिडेन्ट नोमिनी अर्जुनप्रसाद पोखरेल, सचिव वेदराम पोखरेल, कोषाध्यक्ष संगम श्रेष्ठ लगायतको २२ सदस्य नयाँ कार्यसमिति गठन गरिएको थियो ।
कार्यक्रममा बोल्दै रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका वर्तमान अध्यक्ष गोपालप्रसाद खनालले रोटरी वर्ष २०२५ –२६ का निम्ति अध्यक्षको जिम्मेवारी पाएकोप्रति आभार प्रकट गर्दै वर्ष २०२४– २५ मा पुरा हुन नसकेका अधुरा कार्यक्रमलाई पूरा गर्न पहल गर्ने बताउनुभयो । त्यसैगरी स्वास्थ्य शिविर रक्तदान वातावरण संरक्षण वृक्षरोपण, विपन्न विद्यार्थीलाई शिक्षा सामग्री वितरण, विपन्न वर्गलाई राहत सामग्री वितरण, महिला सशक्तिकरण उद्यमशीलता जस्ता कार्यक्रमलाई थप प्राथमिकताका साथ सञ्चालन गर्ने बताउनुभयो । क्लबका कार्यक्रमले स्थानीय युवाहरूलाई सशक्त बनाउने संस्कृति आदानप्रदान गरेर समाजमा दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्य राखेको बताउनुभयो । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुलाई उत्कृष्ट क्लब बनाउन आफू हरपल लागिपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा गरिब तथा जेहनदार विद्यार्थी र १०२ वर्षीय आमा ललिकला भुसाललाई नगद रकमसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल रहेको कार्यक्रममा विशिष्ट अतिथि प्रेमकुमार शर्मा, विशाल गैरे, एजाज आलम, रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता गोपालप्रसाद खनालको रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका प्रेसिडेन्ट नोमिनी अर्जुन प्रसाद पोखरेलले गर्नुभएको थियो ।


