कपिलवस्तु,। हरेक बर्ष जस्तै यस बर्ष पनि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलले तामझामका साथ सोमबार खेल सप्ताह सुरु गरेको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ सुरु भएको खेल सप्ताहको उद्घाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गर्नुभएको हो ।
कार्यक्रको उद्घाटन गर्दै नगर प्रमुख अर्यालले खेलकुद कार्यक्रमले विद्यार्थीलाई भविष्यको बाटो तर्फ अगाडि बढ्न टेवा पुग्ने बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका अर्यालले बाणगंगा नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तरमा सुधार ल्याउन विभिन्न नीतिहरू लागू गर्दै आएको र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको बताउदै बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापको माध्यमबाट हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल निकै प्रथमिकताका साथ लागिरहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा विद्यालयका प्रिन्सिपल शिवकुमार पोख्रेलले खेलकुद सप्ताहले विद्यार्थीहरूको आत्मविश्वास र टीमवर्कको भावना बढाउन महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
त्यस्तै स्कुलका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले खेलकुदले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई खेलकुदको माध्यमाबाट प्रस्तुत गरि नगर हुदै जिल्ला तथा देशमै आफ्नो उत्कृष्टता पस्तुत गर्न पाउने बताउनुभयो ।
लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य तथा हिलबर्ट स्कुलका अध्यक्ष दिपक खनालले विद्यार्थीहरुले निकै अनुशासन र सक्रियताका साथ खेलकुदमा सहभागी भएको बताउनुभयो ।
खेल सप्ताहको उद्घाटन कार्यक्रममा विभिन्न खेल प्रतियोगिताहरूको शुभारम्भ गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, दौड, लगायतका प्रतियोगितामा स्कुलमा रहेका करिब ११ सय विद्यार्थीहरुमध्ये अधिकांसले भाग लिएका छन् । विद्यालयले एक सातासम्म विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
कार्यक्रममा विद्यालयका इभेन्ट कोडिनेटर सन्तोष खनालको स्वागत तथा विद्यालयका एकेडमी डाइरेक्टर तेज प्रसाद आचार्यको सञ्चालन रहेको थियो ।


