राष्ट्रिय बाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बाणगंगाले आफ्नो ६० औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ । शाखा कार्यालय परिसरमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रोमनाथ न्यौपानेले बैंकले लामो समयदेखि सहज र प्रभावकारी सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

उनका अनुसार बैंकले विशेषगरी शुलभ कृषि कर्जा लगायतका सेवाहरु उपलब्ध गराउँदै कृषक र व्यवसायीहरुलाई आर्थिक प्रोत्साहन प्रदान गर्दै आएको बताए । न्यौपानेले वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष फरक शैलीमा कार्यक्रम आयोजना गर्दै बैंकप्रति ग्राहकहरूको विश्वास र संलग्नता बढाउँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले राष्ट्रिय बाणिज्य बैंकको योगदानको प्रशंसा गर्दै यस बैंकले जिल्लाको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “बैंकले प्रदान गर्ने सुलभ सेवाहरूले उद्योग, व्यापार र कृषि क्षेत्रलाई टेवा पुर्‍याएको छ। राष्ट्रिय बाणिज्य बैंकको प्रयासले जिल्लाको समग्र आर्थिक क्रियाकलापलाई गति दिन मद्दत पुगेको छ।” क्षेत्रीले आगामी दिनमा पनि बैंकले अझ नवीनतम सेवाहरू उपलब्ध गराउँदै ग्राहकको आवश्यकता र विश्वासलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

वार्षिकोत्सवका अवसरमा बोल्दै स्थानीय व्यवसायी अर्जुन पोख्रेलले राष्ट्रिय बाणिज्य बैंकको सेवाको प्रशंसा गर्दै अन्य बैंकहरूसँग तुलना गर्दा यस बैंकको सेवा उदाहरणीय रहेको बताए । उनले भने, “प्राइभेट बैंकहरूभन्दा राष्ट्रिय बाणिज्य बैंकले पछिल्लो समय सहज र भरपर्दो सेवा दिइरहेको छ । सेवा लिन आउँदा झन्झट बेहोर्नु नपर्दा ग्राहकहरू निकै सन्तुष्ट छन् ।” पोख्रेलले बैंकलाई भविष्यमा अझ प्रभावकारी र सहुलियतपूर्ण सेवा सञ्चालन गर्न शुभकामना व्यक्त गरे ।

कार्यक्रमका दौरान बैंकले कृषि व्यवसायी, युवा उद्यमी, निक्षेपकर्ता, उद्योगी, व्यापारीलगायतलाई सम्मान पत्र प्रदान गर्दै उनीहरूले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर गरेको थियो । शाखा प्रबन्धक न्यौपानेका अनुसार, यस प्रकारका सम्मानले ग्राहकहरूको मनोबल उच्च बनाउन योगदान पुर्‍याउनेछ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले यसरी आफ्ना सेवाग्राही र साझेदारहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै ६० औं वार्षिकोत्सवलाई ऐतिहासिक बनाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *