प्युठान । असुरक्षा बढेपछि प्युठानमा जारी प्रथम भित्रीकोट प्युठान महोत्सव सञ्चालनमा रोक लगाइएको छ । प्युठान उद्योग वाणिज्य संघ प्युठान बजार इलाकाको आयोजनामा भइरहेको महोत्सवमा जनताको जिउधनको असुरक्षा बढेको, जनगुनासो बढी आएको भन्दै नगरपालिकाले महोत्सव सञ्चालनको अनुमति रद्द गरेको जनाएको छ ।
नगरपालिकाका मेयर विष्णुबहादुर योगीद्वारा जारी सूचनामा पुस ५ गतेदेखि १७ गतेसम्मका लागि महोत्सव सञ्चालन गर्ने अनुमति दिइएकोमा १६ गते आजदेखि लागू हुने गरी महोत्सव सञ्चालनमा रोक लगाइएको नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले जानकारी दिए ।
महोत्सव बेलुका ५ बजेसम्म सञ्चालन गर्नुपर्नेमा रातिसम्म सञ्चालन गरेको जसका कारण सडक दुर्घटना बढेको तथा महोत्सवस्थलमै दर्शकको मृत्यु हुनु जस्ता घटनालाई ध्यानमा राखेर महोत्सव सञ्चालनको अनुमति रद्द गरिएको बताए ।
१४ गते महोत्सवस्थलबाटै निस्कँदै गरेका एक जनालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो भने सोही दिन मोटरसाइकल र म्याजिक गाडी ठोक्किँदा दुई जना घाइते भएका थिए । १५ गते महोत्सव हेरिरहेका एक जना महोत्सव स्थलमै ढलेर ज्यान गएको थियो ।


