लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाई कपिलवस्तु । बुद्ध जन्मस्थलमा थन्किएर बसेका विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । पाँच वटामध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालन भएको हो । ती बसहरु लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेको जनाउँदै आएको थियो ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुई वटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा पाँच वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन । दाताले दिएको बस पर्यटकको सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले बिहीबारदेखि परीक्षणस्वरुप बसमा दानपेटिका राखेर सञ्चालन सुरु गरेको हो ।

रुपन्देही क्षेत्र न। ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे०, प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गर्नुभयो ।

बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् । तर बस भाडा भनेर पैसा लिइने छैन । बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दिगो रुपमा सञ्चालन हुने बताउनुभयो ।

उहाँले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटीले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउँदा त्यसले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले अहिले परीक्षणस्वरुप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताउनुभयो ।

उपाध्यक्ष डा। लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटक–पटक पहल गर्दा पनि नभएको बताउँदै अहिले सङ्घीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिनेगरी दानपेटिकाको विधिमार्फत सञ्चालन थालिएको बताउनुभयो । उहाँले कानुनी अडचनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानकर्षण गराउनुभयो ।

यस्तै, पूर्वमन्त्री एवम् लुम्बिनी क्षेत्रका प्रदेश सांसद सिके गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो ।बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक बिजुली बसको सेवा लिएका थिए । यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *