चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले आयुर्वेद र योग पछिल्लो समय अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा विद्यालय शिक्षकहरुको लागि सञ्चालन भएको ३ दिने आयुर्वेद तथा योग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो समय धेरै मानिस डिप्रेसन लगायत अन्य मानसिक तथा नसर्ने रोग बाट ग्रसित रहेको भन्दै यस्ता समस्यालाई न्युनिकरण गर्नपनि आयुर्वेद तथा योगले ठूलो भुमिका खेल्ने बताउनुभयो । शिक्षकहरुलाई दिइएको यस्तो तालिम अझ प्रभावकारी बन्नेमा मेयर अर्यालले जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायतले बोल्दै मानिसको सर्वाङ्गिण पक्षमा स्वस्थ रहन योग र आयुर्वेद अपरिहार्य रहेको बताउनुभयो ।
अभिमुखिकरण तालिममा बाणगङ्गा नगर भित्रका विभिन्न विद्यालयका ३० शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको समन्वय तथा व्यवस्थापकिय सहयोग गरेको संस्था बाणगङ्गा आयुर्वेद शाखा प्रमुख तेज बहादुर सोमैले बताउनुभयो । आयुर्वेद र योगका विभिन्न विषयमा आयोजक संस्थाका अध्यक्ष डाक्टर नलिन नाथ तिवारी, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रवेश श्रीवास्तव, डाक्टर आशिष चौधरी, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरिक्षक हरिलाल उपाध्याय लगायतले प्रशिक्षण दिनुभएको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष डाक्टर नलिन नाथ तिवारीको अध्यक्षतामा भएको समापन सत्रको सञ्चालन संस्थाका वरिष्ठ कविराज निरिक्षक हरिलाल उपाध्यायले गर्नुभएको थियो ।




