बाँकेका दुई स्वास्थ्य संस्था प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगन्ज। बाँके जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर २ र ५ को स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशको पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार डुडुवा गाउँपालिकाको २ र ५ नम्बर वडामा रहेको स्वास्थ्य संस्थालाई प्रदेश कै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । उहाँले निर्देशिका बमोजिम तोकिएको मापदण्डका आधारमा वडा नम्बर २ को बेतहनी स्वास्थ्य चौकी र वडा नम्बर ५ को कम्दी स्वास्थ्य चौकीलाई औपचारिक रुपमा प्रदेशकै पहिलो किशोर किशोरीमैत्री घोषणा गरिएको बताउनुभयो । दुबै स्वास्थ्य संस्थाले निर्देशिका बमोजिम ९८ प्रतिशत सूचक पुरा गरेको हुँदा घोषणा गरिएको प्रमुख शाहीको भनाइ छ ।

घोषणा कार्यक्रममा दुबै स्वास्थ्य चौकीलाई प्रमाणपत्र वितरण गर्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले लुम्बिनी प्रदेशमै आफ्नो पालिकाका दुई संस्था पहिलो घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसारको ९८ प्रतिशत सूचक पुरा गरेकाले वडा नम्बर २ र ५ का स्वास्थ्य चौकी एकै पटक किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको बताउनुभयो ।

घोषणा कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष पाटेश्वर कुर्मी र वडा नम्बर ५ का वडाअध्यक्ष झंक बहादुर थापाले प्रदेशमै पहिलो पटक आफ्नो वडाको स्वास्थ्य चौकी किशोर–किशोरीमैत्री घोषणा भएकोमा गर्व लागेको बताउनुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका किशोरकिशोरीमैत्री फोकल पर्सन बिष्णु श्रेष्ठ, पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्जय कर्ण लगायत स्थानीय वासिन्दाहरुको पनि उल्लेख्य संख्यामा उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *