कपिलवस्तुको विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान सञ्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत बालबालिका तथा परिवार गतिविधिका लागि ‘एक घर, एक पठन कुना’ सिकाई उपलब्धीलाई प्रभावकारी बनाउन शैक्षिक सामग्री सहयोग गरिएको छ ।

किड्स संस्थाकी फिल्ड सुपरभाइजर बबिता विश्वकर्माका अनुसार परियोजना अन्तर्गत विद्यार्थीहरूलाई नम्बर गन्ने सामग्री, स्पन्ज अक्षर, स्पन्ज नम्बर, चरा चार्ट, जनावर चार्ट, तरकारी चार्ट, मेटा कार्ड, स्थायी मार्कर, स्वर अक्षर, व्यञ्जन अक्षर, अध्ययन टेबल, पी-फोम, साइन पेन, चार्ट पेपर, ड्रइङ कपी, पेन्सिल, कटर, इरेजर, पेन, कपी, लुडो, क्रेयन्स रङ तथा कार्टुन लगायतका सामग्री उपलब्ध गराइएको हो ।

किड्स संस्थाद्वारा सञ्चालित वडा नम्बर ३, ५ र ६ का ५२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ । प्रति विद्यार्थीलाई ६ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएकाे हाे ।

सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बालबालिकाको सिकाई वातावरण सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले घरमै सिकाईको वातावरण सिर्जना गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकाको शिक्षामा गाउँपालिकाले सहयोग जारी राख्ने बताइन् ।

किड्स संस्थाले बालबालिकालाई घरमै सहज रूपमा अध्ययन गर्ने वातावरण बनाउन ‘एक घर, एक पठन कुना’ अभियान सञ्चालन गरेकाे जनाएको छ । उक्त अभियानले बालबालिकाको पढाइप्रति रुचि बढाउने र सिकाइ उपलब्धीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *