चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा अवस्थित जितपुर मन्टेश्वरी स्कुलले सातौँ वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्रागंणमा उक्त कार्यक्रमको आयोजना गरि कक्षा नर्सरीदेखी यु–केजी सम्मको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले जितपुर मन्टेश्वरी स्कुल हरेक गतिविधिमा अब्बल रहेको बताउदै बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक र शिक्षकको साथ उत्तिकै आवश्यक रहनेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपप्रमुख चौधरीले जितपुर मन्टेश्वरी स्कुल वडाकै शैक्षिक प्रतिष्ठान रहेकाले ढुक्क भएर बालबालिकाहरुलाई भर्ना गर्न अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रोशन घिमिरेले बाणगंगाका सामुदायिक, निजि विद्यालय र मन्टेश्वरीले उत्कृष्ट नतिजा ल्याइरहेको भन्दै बाणगंगा शिक्षाको केन्द्रविन्दु भएको बताउनुभयो । उहाँले मन्टेश्वरीमा बालबालिकाको बोलिको विकास हुने, साथीभाईसंग घुलमिल हुने र मस्तिष्क विकास हुने कुरामा जोड दिनुभयो । प्रमुख घिमिरेले आगामी दिनमा अझ प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको माध्यमबाट नमुना मन्टेश्वरी बन्ने विश्वास व्यक्त गर्नु भयो ।
स्कुलका संस्थापक अध्यक्ष सुशिल पौडेलले स्कुलको स्थापना देखि अहिले सम्मको प्रगति प्रस्तुत गर्दै अभिभावकहरुको सहयोग र समन्वयका कारण सातौँ वार्षिक उत्सव मनाउन पाएको बताउनुभयो । उहाँले आफ्नै भवनमा संचालित मन्टेश्वरी जितपुर मन्टेश्वरी मात्र भएकाले निकट भविष्यमा स्कुलको तहलाई बढाउने बताउनुभयो ।
मन्टेश्वरीका अध्यक्ष असीम कंडेल क्षेत्रीले मन्टेश्वरीलाई अभिभावकको चाहाना बमोजिम लगिएको बताउनुभयो । स्कुलको शैक्षिक गुणस्तरलाई बउाउन अतिरिक्त क्रियाकलापलाई समेत जोड दिइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका अभिभावकहरुले सम्बोधन गर्दै जितपुर मन्टेश्वरी स्कुल मन्टेश्वरी मापदण्डमा संचालीत मन्टेश्वरी रहेकोले आफ्ना बालबालिकालाई भर्ना गरेको बताएका थिए । कार्यक्रममा शैक्षिक सत्रभरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका बालबालिकाहरुलाई शिल्ड, मेडल र पुरस्कार वितरण गर्दै, शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो शिक्षिका तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति र प्रतिभा प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
स्कुलका अध्यक्ष असीम कंडेल क्षेत्रीको अध्यक्षता, प्राध्यापक पुष्पा क्षेत्रीको स्वागत मन्तब्य तथा शिक्षिका सारदा नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानिय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





