कपिलवस्तु । बाणगंगाको चार नम्बरमा मोबाइल व्यवसाय गर्दै आएको हाईलाईट मोबाईलले आफ्नो सेवा विस्तार गर्दै नयाँ स्वरुम सञ्चालनमा ल्याएको छ । नयाँ स्वरुम बाणगंगा नगरपालिका अन्तर्गत चार नम्बर चोकमा चैत्र १९ गते बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
नयाँ स्वरुमको उद्घाटन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय स्तरमै गुणस्तरीय मोबाइल सेवा उपलब्ध हुनु अत्यन्तै सकारात्मक कदम भएको बताए । उनले व्यवसायीहरूलाई ग्राहकको विश्वास जित्ने र सेवा गुणस्तरलाई प्राथमिकता दिन सुझाव दिए ।
हाईलाईट मोबाईलका सञ्चालक केशब खनालले ग्राहकलाई सहज, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिए । उनले नेपालमा उपलब्ध प्रायः सबै ब्रान्डका मोबाइलहरू एकै स्थानबाट उपलब्ध गराइने व्यवस्था गरिएको बताए ।
खनालका अनुसार नयाँ वर्ष तथा उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष उपहार योजना समेत ल्याइएको छ, जसले ग्राहकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, कपिलवस्तु मोबाइलफोन व्यवसायी संघका अध्यक्ष नारायण घिमिरेले प्रतिस्पर्धात्मक बजारमा टिक्नका लागि गुणस्तरीय सेवा र उचित मूल्य अनिवार्य हुने उल्लेख गर्दै नयाँ शाखाको सफलताको कामना गरे ।
वि.सं. २०६८ सालदेखि कपिलवस्तुको बाणगंगा नगरपालिका–जितपुरबाट ३५ हजार रुपैयाँको लगानीमा ‘हाईलाईट मोबाइल सर्भिस सेन्टर’ सञ्चालन गर्दै आएका खनालले अहिले व्यवसायलाई विस्तार गर्दै आधुनिक सेवा सुविधासहित नयाँ स्वरुम सञ्चालनमा ल्याएका हुन् ।
नयाँ स्वरुमबाट मोबाइल बिक्री, मर्मत सेवा, एक्सेसोरिज तथा अन्य सम्बन्धित सेवाहरू उपलब्ध हुने जनाइएको छ । ग्राहकको आवश्यकता अनुसार छिटो, सहज र विश्वसनीय सेवा दिने लक्ष्यसहित स्वरुम सञ्चालनमा आएको सञ्चालकले बताएका छन् ।

