कपिलवस्तु । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ले चुनावी गतिविधि तीव्र बनाउने निर्णय गरेको छ। क्षेत्रअन्तर्गत बाणगंगामा रहेका अगुवा कार्यकर्ताहरूको विस्तारित समीक्षा बैठक सम्पन्न गर्दै पार्टीले अबको रणनीति थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने निष्कर्ष निकालेको हो।
बैठक बाणगंगा–४ स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा आयोजना गरिएको थियो। निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा हालसम्म सञ्चालन गरिएका कार्यक्रमहरूको विस्तृत समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिएको थियो।
संयोजक शर्माले निर्वाचनलाई लक्षित गर्दै घरदैलो, टोलभेला, मतदाता भेटघाट र संगठन सुदृढीकरणका कार्यक्रमहरूलाई तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो।
बैठकमा सह–संयोजक शंकर पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपसचिव भेषराज पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थी लगायत प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकले आगामी दिनमा जनताको घरदैलो कार्यक्रमलाई थप सशक्त, योजनाबद्ध र प्रभावकारी ढंगले अघि बढाउने, संगठनलाई चलायमान बनाउने तथा निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्र पार्ने निर्णय गरेको जनाएको छ।


