कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा नतिजाअनुसार कपिलवस्तु जिल्लामा बिजयनगर गाउँपालिका पुनः उत्कृष्ट बन्न सफल भएको छ । स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) अन्तर्गत बिजयनगरले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा गाउँपालिका श्रेणीमा पहिलो र समग्रतर्फ दोस्रो स्थान हासिल गरेको हो ।
मन्त्रालयले प्रत्येक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन, र सहकार्य तथा समन्वय गरी नौ सूचकमा मूल्याङ्कन गर्दै आएको छ ।
यिनै सूचकहरूको आधारमा बिजयनगरले दीर्घकालीन दृष्टिकोण, मध्यमकालीन खर्च संरचना, समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन तथा अनुगमनलाई प्रभावकारी बनाउन सफल भएको छ ।
विजयनगर गाउँपालिकाले आर्थिक, सामाजिक, पूर्वाधार, वन–वातावरण तथा विपद् व्यवस्थापन, र सुशासन तथा संस्थागत विकास गरी पाँच प्रमुख क्षेत्रमा सन्तुलित बजेट विनियोजन गरेर नतिजामुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले निरन्तर अब्बल परिणाम प्राप्त हुनु सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको संयुक्त प्रयासको परिणाम भएको बताए ।
“बिजयनगरलाई नमुना गाउँपालिका बनाउन हामीले सुरु देखिनै योजनाबद्ध र पारदर्शी ढङ्गले काम गर्दै आएका छौँ । यो उपलब्धिले अझ बढी जिम्मेवारी थपिएको छ ,” उहाँले भन्नुभयो ।
आगामी दिनमा पनि विकासका सबै क्षेत्रलाई समान महत्व दिँदै जनतालाई प्रत्यक्ष अनुभूति हुने कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।


