वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालले जारी गरेको आदेशअनुसार सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु  लागू गरिएको हो।

आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया नदी, उत्तरमा गण्डक चोकर दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने हवाई यात्रुहरूलाई भने सुरक्षा निकायबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *