वर्षौदेखिका कुल २ सय ७८ वटा मुद्दा फर्छ्योट गर्न सफल कपिलवस्तु अदालत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । जेन्जी आन्दोलनका क्रममा अदालतमा आगजनी भएर अभिलेखमा ठूलो क्षति पुगेको तथा निर्वाचनका कारण काम प्रभावित भएको अवस्थामा पनि कपिलवस्तु जिल्ला अदालतले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अदालतले वर्षौदेखि विचाराधीन रहेका दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्न सफल भएको हो ।

अदालतको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार दुई वर्षभन्दा पुराना कुल २ सय ७८ वटा मुद्दा फर्छ्योट गरिएको छ। अदालतका श्रेस्तेदार अनन्त मरासिनीका अनुसार अदालत स्थापनाकालदेखि हालसम्म पहिलो पटक दुई वर्षभन्दा पुराना सबै मुद्दा टुंग्याउन सफल भएको हो । उनले न्यायाधीश तथा कर्मचारीहरूको सामूहिक प्रयासका कारण यो उपलब्धि सम्भव भएको बताए ।

गत वर्ष भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीबाट श्रेस्ता तथा अभिलेख रेकर्ड मा ठूलो क्षति पुगेको थियो। त्यसका कारण दुई महिनाभन्दा बढी समय अदालतको नियमित कामकाज प्रभावित भएको थियो । त्यस्तै, फागुन २१ गते सम्पन्न निर्वाचनपछि न्यायाधीश तथा कर्मचारीको सरुवाले पनि अदालतको कार्यसम्पादनमा असर परेको थियो ।

यस्ता चुनौतीका बीच अदालतले गत आर्थिक वर्षमा कुल ३ हजार ८५१ मुद्दामध्ये २ हजार ४०१ मुद्दा फर्छ्योट गर्दै ६२.३४ प्रतिशत फर्छ्योट दर कायम गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५०९ र नयाँ दर्ता भएका २ हजार ३४२ मुद्दामध्ये हाल १ हजार ४५० मुद्दा फर्छ्योट हुन बाँकी छन् ।

आर्थिक वर्ष २०८१/८२ मा भने कुल ४ हजार ४१६ मुद्दामध्ये ६५.८२ प्रतिशत मुद्दा फर्छ्योट गरिएको थियो । गत आर्थिक वर्षमा अदालतमा देवानीतर्फ २ हजार ६४८, फौजदारीतर्फ १ हजार १५५, बन्दी प्रत्यक्षीकरणका ४ तथा निषेधाज्ञासम्बन्धी ४४ मुद्दा दर्ता भएका थिए।

हाल बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका १ हजार ४७, ६ महिनादेखि एक वर्षसम्मका १९०, १२ देखि १८ महिनासम्मका १८० तथा १८ महिनादेखि दुई वर्षभित्रका ३३ मुद्दा रहेका छन् । कपिलवस्तु जिल्ला अदालतमा हाल पाँच जना न्यायाधीशले मुद्दाको सुनुवाइ तथा फैसला गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *