रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रोल्पा । रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् । अदालतमा दर्ता भएका करिब ६ सय मुद्दामध्ये ३ सय २६ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ सय ७५ वटा मुद्दाको फैसला भइसकेको छ भने अब ५१ वटा मात्रै मुद्दा बाँकी छन् ।

रोल्पा अदालतका स्रेस्तेदार शिव पराजुलीका अनुसार अदालतका फौजदारी भन्दा देवानी मुद्दा दर्ता बढी हुने गरेको छ । धेरै वर्षदेखि नै देवानी मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेको पाइएको उनले बताए । केही वर्षयता सम्बन्ध विच्छेदका मुद्दाको फैसला छिटो हुने गरेको छ । सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउन आउनेहरुमध्ये कम उमेरका किशोरीहरुको संख्या बढी भएको उनले बताए ।

चालु आर्थिक वर्षमा ४ सय ६५ वटा नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्ष १ सय २६ वटा मुद्दा सरिआएका थिए भने मुद्दा फछर्यौटको क्रम पनि बढेको अदालतले जनाएको छ । अदालतमा धेरै मुद्दा दर्ता भएकामा लेनदेनका ५३ थान, अंशका २२ थान, ज्यान सम्बन्धी कसुरका ३६ थान र जबरजस्ती करणीका ३२ थान मुद्दा लगायत छन् ।

अदालतले छिटो छरिता न्याय प्रदान गर्ने उद्देश्य लिएकाले पुराना मुद्दा छैनन् । अदालतमा दुई वर्ष नाघेको मुद्दा नराखिएको र हाडनातामा जबरजस्ती करणी सम्बन्धीको एउटा मुद्दामा विधिविज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन आउन बाँकी रहेकाले १८ महिना पुगेको एउटा मुद्दा रहेको अदालतले जनाएको छ ।

आर्थिक वर्षमा गरिएका कार्यहरुको प्रगति सुनाउन आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायाधीश खिमानन्द भुसालले उच्च प्राथमिकता दिएर न्याय प्रदान गर्न अदालत लागिपरेको बताए । ‘न्याय छिटो छरितो प्रदान गर्नुपर्छ । कानुन यस्तो चीज हो, यो नभई पनि नहुने र नजिक ल्याउन पनि नहुने हो ।’ उनले भने । राज्यद्वारा एकीकृत रुपमा पालना गर्न ल्याइएको नियम नै कानुन भएकाले न्यायालयले न्याय प्रदान गर्न ढिलो गर्न नहुने उनको धारणा छ ।

न्यायाधीश भुसालका अनुसार रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा जत्तिकै बालविवाहको पनि उत्तिकै समस्या छ । ‘सानो उमेरमा विवाह गर्ने र बुझ्ने उमेर भएपछि सम्बन्ध विच्छेद गर्नेहरु धेरै देखिए । उनीहरुको अवस्था, दुःख र वास्तविक समस्या बुझेर नै अदालतले न्याय दिलाउने हो ।’ न्यायाधीश भुसाल भन्छन् । न्यायाधीश भुसालले महिलासँग सम्बन्धित मुद्दा धेरै भएको सुनाए । सम्बन्ध विच्छेद, जबरजस्ती करणी, अंश, लगायतका विषयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो महिलासँग सम्बन्धित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *