बुद्धभूमिका ६ ओटा वडाहरु एकैपटक ‘पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा’ घोषणा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ६ ओटा वडाहरु ‘पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा’ घोषणा भएका छन् । बुधबार एक कार्यक्रमकाबीच वडा नं.१, २, ३, ४, ५ र ९ लाई पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य चौकी ईन्चार्जलाई पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा भएको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

नगरप्रमुख केशव श्रेष्ठले घरमा प्रसुति गराउने संख्या शुन्यसहित पुर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा प्रकृया अनुसार सबै मापदण्ड पुरा गरेकाले ६ ओटा वडालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त वडा पालिका घोषणा गरिएको बताए ।

नगरपालिका अन्य ४ ओटा वडाहरुलाई पनि मापदण्ड पुरा गराएर छिट्टै समग्र पालिकालाई नै पूर्णसंस्थागत प्रसुति सेवायुक्त पालिका बनाउने दिशातर्फ आफुहरु आजैदेखि लाग्ने उनले प्रतिवद्धता जनाए । यस उपलब्धिलाई दिर्घकालीन रुपमा कायम गर्न चुनौति रहेको बताउँदै उनले भने, ‘हामीहरुलाई यो उपलब्धिले थप जिम्मेवार बनाएको छ । यसलाई दिगोपना दिने विषयमा सबै एकबद्ध भएर लाग्नुपर्छ ।’

पालिकाले नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा दिदैं आएको स्मरण गराउँदै उनले प्रसुतिको केशमा आवश्यकता अनुसार अटो रिक्सालाई एम्बुलेन्सको विकल्पको रुपमा प्रयोग गरिने बताए । त्यसबापत पालिकाले नै ५ सय रुपैयाँ दिने उनले जानकारी गराए । नगरप्रमुख श्रेष्ठले केही वडाहरुलाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रियामा नगर अघि बढेको समेत जानकारी दिए ।

पूर्वमन्त्री समेत रहेका प्रतिनिधि सभा सांसद सुरेन्द्रराज आचार्यले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवीकाको अथक प्रयासले यो उपलब्धि हासिल भएको भन्दै खुशी व्यक्त गरे । उनले वडाहरुले हासिल यो उपलब्धि प्रशंसनीय रहेको बताउँदैं अब समग्र पालिका नै पूर्णसंस्थागत प्रसुति सेवायुक्त भए मात्र यो कार्यक्रमले सार्थकता प्राप्त गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई पालिकाले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले तीनै तहका सरकारले स्वास्थ्यमा गरेको लगानी अझै बढाएर अघि बढ्न आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरी, एमाले बुद्धभूमिका अध्यक्ष ध्रुब प्रसाद न्यौपाने, वडाध्यक्ष रोमबहादुर थापा लगायतले बोल्दै ६ ओटा वडाहरुले हासिल गरेको यस महत्वपूर्ण उपलब्धिलाई प्राथमिकताका साथ दिर्घकालीन बनाउनुपर्नेमा जोड दिएका थिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुदेव खनालले प्रतिवेदन प्रस्तुत गर्दै सम्पुर्ण मापदण्डहरु हासिल गरेकाले बुद्धभूमिका ६ ओटा वडाहरुलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको स्पष्ट पारेका थिए ।

स्वास्थ्य शाखाका सिनियर अहेव गोकर्ण अर्यालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख मिरा थारुसहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो । -वैखरी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *