बसपार्क पूर्वमै थुपार्ने सोच: बाणगंगाको विकासलाई एकै दिशामा सीमित पार्ने गल्ती

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
बाणगंगामा बसपार्क पूर्वतिर—जितपुर, पिपरा वा बैरीया क्षेत्रमा—स्थापना गर्ने चर्चा फेरि चर्किँदा सबैभन्दा ठूलो चिन्ता यही उठ्छ कि हामी फेरि पनि विकासलाई एउटै भूभागमा मात्र केन्द्रित गरिरहेको त होइन? वर्षौंदेखि नगरका प्रमुख सेवा, प्रशासनिक सुविधा र बजार पूर्वमै जम्दै आएका छन्।
बसपार्कजस्तो निर्णायक संरचना पनि त्यहीँ राख्ने सोचले बाणगंगाको दीर्घकालीन विकासलाई एकतर्फी बनाउने जोखिम देखिन्छ। नगरभित्र अहिले नै एउटा अघोषित दोन्द जस्तो अवस्था महसुस हुन्छ—खासगरी पुलवारी–पारिको पक्ष, अर्थात् पूर्वी क्षेत्रमा राजनीतिक तथा आर्थिक रूपले अपेक्षाकृत बलियो समूह बसोबास गर्ने भएकाले धेरै योजना स्वाभाविक रूपमा त्यता तानिन्छन्। यो गलत होइन, तर सन्तुलनको अभाव दीर्घकालीन रूपमा समस्याको जड बन्न सक्छ।
पूर्व, विशेषतः जितपुर–पिपरा–बैरीया क्षेत्रमा संरचना र चाप लगातार बढ्दा, भोलि सहरी अव्यवस्था, जाम र अनियन्त्रित बजार विस्तार जस्ता चुनौती बढ्न सक्छन्। उता पश्चिम, अर्थात् बोड्गाउँ–बाङ्गै, आज पनि पर्याप्त पूर्वाधार, लगानी र अवसरको प्रतीक्षामा छन्। बसपार्क जस्तो ‘विकास तान्ने केन्द्र’ पश्चिमतर्फ सारियो भने, त्यहाँ व्यापार, सेवा, आवासीय विस्तार र रोजगारी स्वतः बढ्छ। यसले नगरलाई एउटै दिशामा झुकाउने होइन—दुवै किनारालाई बराबर उचाल्ने दीर्घकालीन प्रभाव पार्छ।
विकासको एउटा अर्को केन्द्र पश्चिममै बनेमा बाणगंगा पूर्व–पश्चिम दुवै पाटोलाई समेटेर अघि बढ्ने सहरी संरचना तयार हुन्छ। मेरी दृष्टिमा बसपार्क केवल यात्रु बस्ने ठाउँ होइन—यो नगरको आर्थिक गुरुत्व केन्द्र हो। जहाँ राखिन्छ, त्यतैतिर विकासको प्रवाह तानिन्छ। त्यसैले यो निर्णय तत्कालको सहजतामा होइन—२० वर्षपछि बाणगंगा कस्तो देखिनुपर्छ भन्ने चित्रमा आधारित हुनुपर्छ। बसपार्क पूर्वमै राखेर विकासलाई जितपुर–पिपरा–बैरीयामै थुपार्नु भन्दा, पश्चिमतिर सारेर बोड्गाउँ–बाङ्गैलाई दोस्रो विकास–केन्द्र बनाउनु आजको बुद्धिमानी विकल्प हो। यही सन्तुलित दृष्टिले मात्र बाणगंगाको दिगो र समावेशी भविष्य सुरक्षित हुन्छ। -बिशाल राज अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *