पावर सामुदायिक वनद्वारा पावार मा.वि. लाई १ लाख बढिको कोचिङ्ग शुल्क प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, अर्घाखाँची । विभिन्न उत्कृष्ट कार्य गर्दै प्रशंसा कमाइरहेको अर्घाखाँचीको शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले विद्यार्थीको कोचिङ्ग कक्षा सञ्चालन गर्न १ लाख बढी रकम प्रदान गरेको छ । २०८२ सालको एस.ई.ई परीक्षा दिने तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ्ग कक्षा सञ्चालन गर्न पावर माध्यमिक विधालयलाई १ लाख १ हजार १ सय रुपैयाँ प्रदान गरेको हो ।

भौगोलिक रुपमा विकटता र आर्थिक रुपमा बिपन्न हुँदा विद्यार्थीको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त रकम प्रदान गरिएको वनका अध्यक्ष वीर बहादुर खम्चाकी मगरले बताउनुभयो । आफुहरुले वनको आम्दानीलाई समाजका विभिन्न पक्षमा खर्चिदै आइरहेको र अहिले पावर मा.वि. को शैक्षिक सुधारको लागि रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि, शितगङ्गा–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले वनले के गर्छ र भन्नेको लागि एक उत्कृष्ट उदाहरण पावर वनले दिइरहेका बताउनुभयो । समाज परिवर्तनको लागि सबैभन्दा पहिला क्षिक्षाको आवश्यक रहेको भन्दै यस क्षेत्रका सबै वन, संघ संस्था, अभिभावक सबै एकजुट भएर शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । अभिभावकले शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै विद्यार्थी आफैपनि पढाई केन्द्रित हुन सुझाब दिनुभयो ।

त्यस्तै शितगङ्गा–१४ का वडा सदस्य ओम बहादुर दर्लामीले पावर सामुदायिक वनले समाजका विभिन्न क्षेत्रमा काम गरिरहेको स्मरण गर्दै शिक्षा क्षेत्रमा पनि उदाहरणिय कार्य गर्न थालेको भन्दै प्रशंसा गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र रेस्मी, शिक्षक अभिभावक संघका अध्यक्ष लोकनाथ खनालले पछिल्लो समय विविध कारण सिङ्गो शितगङ्गा भित्रका विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको समयम वनले कोचिङ्ग कक्षाको लागि गरेको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले विद्यार्थी सबै यसै क्षेत्रका रहेको भन्दै अन्य वनहरुलाई पनि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक नहकुल रेस्मीले पावर सामुदायिक वनले शिक्षाको क्षेत्रमा गरेको लगानी आफ्नै विद्यालय बाट सुरु गरेको भन्दै वन समुहलाई धन्यवाद दिनुभयो । विद्यार्थी टाढाटाढा बाट विद्यालयमा आउनुपर्दा शैक्षिक गुणस्तर समेत कमजोर बनिरहेको समयमा कोचिङको लागी शुल्क अनुदान प्रदान गर्नु अनुकरणीय कार्य रहेको बताउनुभयो ।

कर्यक्रममा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, वनका पदाधिकारी, अन्य सामुदायिक वनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वनका अध्यक्ष वीर बहादुर खम्चाकीको अध्यक्षता तथा चुरा बहादुर कार्कीको स्वागत, वनकी कोषाध्यक्ष ज्ञानुकला पचभैयाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *