काठमाडौँ । पाल्पाको रामपुर र तानसेन नगरपालिका क्षेत्रमा भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । रामपुर नगरपालिका–३, निस्दीखोलास्थित रजघरा भित्री कच्ची सडकमा ट्र्याक्टरबाट खसेर १५ वर्षीय नारायण सारुको मृत्यु भएको हो ।
ट्र्याक्टरको ट्रलीमा खोलामा ढुंगा लोड गरेर फर्किदै गर्दा अचानक लडेका रामपुर–१, वर्दाकोटका सारु गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रैनादेवी छहरा–४, छहरा मेहलढापबाट बुटवल जाँदै गरेको इभी गाडी र मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते भएका छन् । तानसेन नगरपालिका–११, बन्दीपोखराको जोगीपानीमा लुम्बिनी प्रदेश ०१००१ ज ००७१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका–१, हुँगाका ३८ वर्षीय प्रकाश पाण्डे र मोटरसाइकल पछाडि सवार चालककी श्रीमती ३१ वर्षीया कमला पाण्डे घाइते भएका हुन् । घाइतेमध्ये चालकको अवस्था मध्यम र कमलाको अवस्था सामान्य रहेको छ । घाइते दुवैलाई मिसन अस्पताल पाल्पा लगिएकामा थप उपचारको लागि हेलिकप्टरबाट राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा रिफर गरिएको छ । दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।


