बर्दिया । सशस्त्र प्रहरी बल ३१ नम्बर गणले, बर्दियाले नेपाल–भारत सीमा नाकामा आउजाउ गर्नेको अभिलेख लिन थालेको छ । सशस्त्र प्रहरी बलले अवस्था सामान्य भएपछि नेपाल–भारत सीमा नाका खुलेपछि थप कडाई गर्दै आएको छ ।
भारतबाट आउने यात्रुलाई बर्दिया प्रवेश गर्ने कारण, कसलाई भेटघाट गर्ने, कहाँ जाने, कहिले फर्किने? लगायतका कारण सोधेर प्रवेशको अनुमति दिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यस बाहेक अपरिचित यात्रुलाई बर्दियामा भएका आफन्तको जिम्मामा आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । जेन–जीको आन्दोलनका क्रममा कारागारबाट फरार अभियुक्तलाई पक्राउ गर्न र नेपालमा आपराधिक तत्व प्रवेश नगरुन् भन्दै नाकामा कडाई गरेको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए ।
आन्दोलनका नाममा आगजनी, लुटपाट र तोडफोड गर्ने फरार भएकालाई खोजी गर्न सीमा नाकामा कडाई गरिएको उनले जनाए । भारतीय सीमा नाकामा एसएसबीले पनि सुरक्षा व्यवस्था कडा पारेको छ ।
यसबाहेक भारतबाट अवैद्यरुपमा ओसार पसार हुने लागुऔषध र तस्करी नियन्त्रणमा पनि कडाई गर्न प्रहरीलाई निर्देशन दिइएको छ । बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किलोमिटर लामो छ ।


