निर्वाचन लक्षित द्वन्द्व तथा हिंसा रोकथामका लागि विभिन्न पक्ष सङ्ग अन्तरक्रिया

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । निर्वाचन अवधिभर हुनसक्ने द्वन्द्व तथा हिंसाको कारक तत्व पत्ता लगाई त्यस्ता गतिविधिलाई न्युनिकरण गर्नका लागि लुम्बिनी र गणडकी प्रदेशका विभिन्न पक्ष सङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार फ्रिडम स्टुडियो र समग्र विकास सेवा केन्द्र, काठमाडौँको सहकार्यमा सञ्चालन भइरहेको द्वन्द्व तथा हिंसा ट्र्याकिङ/ट्र्याकर (चेतना) कार्यक्रम अन्तर्गत प्रदेशका नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवाला निकाय सङ्गको अन्तरक्रिया सम्पन्न भएको हो ।

छलफलमा निर्वाचन अघि उम्मेदवार छनोट, दलभित्रको आन्तरिक असन्तुष्टि, टिकट वितरण, गठबन्धन र दल विभाजनका कारण उत्पन्न हुने विवाद, निर्वाचन अवधिमा प्रचार–प्रसार, नारा–जुलुस, सामाजिक सञ्जालमार्फत हुने घृणात्मक अभिव्यक्ति, मतदाता त्रास, मतदान केन्द्र आसपासको तनाव तथा निर्वाचनपछि नतिजा अस्वीकार, हार–जितलाई लिएर हुने विरोध, प्रदर्शन र सम्भावित हिंसा, कुनै एक समुदाय धर्म, जातीलाई गाली दिने गलत कार्य बारे गहन छलफल गरिएको थियो।

फ्रिडम स्टुडियोका कार्यकारी प्रमुख प्रतीक कर्माचार्यले समाजमा व्यक्ति, समुदाय र वर्गबीच देखिने फरक विचार, असहमति र असन्तुष्टिलाई समयमै समाधान गर्न नसक्दा साना विवादहरू क्रमशः द्वन्द्व र हिंसामा परिणत हुने खतरा रहने बताउनुभयो। उहाँले निर्वाचनजस्तो संवेदनशील समयमा प्रारम्भिक चेतावनी संकेत पहिचान गर्न सके ठूलो क्षति रोक्न सकिने उल्लेख गर्नुभयो।

छलफलका क्रममा सहभागीहरूले विवाद नै द्वन्द्वको प्रारम्भिक अवस्था भएको र विवादको विकसित रूप नै द्वन्द्व हुने भएकाले निर्वाचन सम्बन्धी द्वन्द्व तथा हिंसा व्यवस्थापनमा राज्य, सुरक्षा निकाय, निर्वाचन प्रशासन, राजनीतिक दल, नागरिक समाज र समुदाय सबैको समान भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

नागरिक समाजका प्रतिनिधि, युवा तथा समुदायस्तरीय सरोकारवाला गरी लुम्बिनी र गण्डकी प्रदेशका ३० जनाको सहभागितामा दुई चरणमा सम्पन्न छलफलमा स्थानीय तहमा देखिने निर्वाचनसँग सम्बन्धित द्वन्द्व तथा हिंसाका अवस्था, प्रवृत्ति, कारण र जोखिमका संकेत बारे विस्तृत चर्चा गरिएको थियो। साथै तथ्याङ्क संकलन, प्रमाणीकरण र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउँदै निर्वाचन शान्तिपूर्ण बनाउन सकिने उपायबारे सुझावहरू प्रस्तुत गरिएका थिए।
छलफलबाट प्राप्त निष्कर्षहरू शान्ति निर्माण, निर्वाचन सम्बन्धी द्वन्द्व न्यूनीकरण तथा प्रमाणमा आधारित नीति तथा निर्णय प्रक्रियालाई सहयोग पुयाउने उद्देश्यले प्रयोग गरिने आयोजक संस्थाले जनाएको छ।

समग्र विकास सेवा केन्द्रका अनुसार समाजमा शक्ति, क्षमता र स्रोतको पहुँच तथा बाँडफाँडमा असमानता हुँदा उत्पन्न हुने मनमुटाव, असन्तुष्टि, झगडा र विचारको बेमेल निर्वाचनको समयमा झनै चर्किने भएकाले ती विषयलाई केन्द्रमा राखी तथ्याङ्क सहितको शोध अध्ययन तयार गरी नेपाल सरकार, निर्वाचन आयोग तथा सम्बन्धित सरोकारवालालाई सिफारिस गरिनेछ।
यसअघि यस्तै कार्यक्रम मधेश र कोशी प्रदेशमा सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ।

 

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *