कपिलवस्तु । मुलुककै पुरानो बजार तथा प्रमुख व्यापारिक केन्द्र कृष्णनगर बजारमा जथाभाबी फोहर फाल्नेलाई कृष्णनगर नगरपालिकाले कारबाही थालेको छ। जथाभाबी फोहर फालेर दुर्गन्ध र बजार कुरूप बनाउनेलाई ठाउँ-ठाउँमा कारबाही गर्दै जरिवाना असुल गरिरहेको छ।
कृष्णनगर बजारलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले गत साउन २८ गतेदेखि कारबाही अभियान चलाइएको हो। भाद्र ४ गतेसम्म ३१ जनालाई कारबाही गरी २६ हजार रुपैयाँ जरिवाना असुल गरिएको नगरपालिका राजस्व शाखा प्रमुख ईश्वरी पौडेलले बताए।
पहिलो पटक फेला परेका व्यक्तिलाई ५ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। नगरपालिकाको फोहर मैला कार्यविधि, २०७५ अनुसार पहिलो पटक जरिवाना तिरेका व्यक्तिले दोस्रो पटक पनि फोहर फालेको पाइए, त्यसको दोब्बर जरिवाना थपिने उनले बताए।
सीमाको बजारमा घर, आँगन र बाटोमा जथाभाबी फोहर फालेर दुर्गन्ध र कुरूप बन्दै गएर नराम्रो सन्देश फैलिन थालेपछि अभियान चलाइएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले बताए। समग्र नगरवासीको पहिचानका लागि महत्त्वपूर्ण काम भएकाले सबैले अभियानलाई सार्थक बनाउन उनले अपिल गरेका छन्।
कृष्णनगरसँगै यो अभियान ऐतिहासिक तथा पुरानो बजार बहादुरगन्ज बजारमा पनि चलाइएको छ। साना–ठूला सबै व्यवसायीलाई कारबाहीमा ल्याइनेछ।
नगरपालिकाले फोहर संकलनका लागि दैनिक ट्याक्टर पठाउँदै आएको छ। त्यस्तै, सरसफाइकर्मी पनि परिचालन गरिएको छ। तर स्थानीयले अटेर गर्दै जथाभाबी बाटो नालीमा फोहर गर्ने प्रवृत्ति बढेकाले बानीमा सुधार ल्याई सभ्य नागरिकको परिचय दिन नगरपालिकाले आग्रह गरेको छ। व्यवस्थित फोहर संकलन र व्यवस्थापनमा कडाइ गर्न नगरपालिकाले ६ जना नगर प्रहरी परिचालन गरेको छ। नगरपालिकाको फोहर मैला कार्यविधि, २०७५ अनुसार १५ हजार रुपैयाँसम्म जरिवाना लिन पाउने प्रावधान छ।
उता, कवाड व्यवसायीलाई समेत आफ्नो मालसामान व्यवस्थित गर्न र आफ्नो कम्पाउन्ड भित्र राख्न सूचना जारी गरिएको छ। ७ दिनको समय दिइएर गत मंगलबार सूचना प्रकाशित गरी कवाड व्यवसाय अन्तर्गत संकलन, भण्डारण र बिक्री–वितरण गर्ने व्यवसायलाई आफ्नै जग्गा/कम्पाउन्डभित्र व्यवस्थित गर्न नगरपालिकाले आग्रह गरेको छ।
कृष्णनगर भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको सबैभन्दा नजिकको नेपाली बजार हो। यहाँ देशकै प्रमुख १० भन्सार नाकामध्ये एक कृष्णनगर पर्छ। त्यस्तै, आन्तरिक राजस्व कार्यालय, विद्युत्, टेलिकम, खानेपानी, प्लान्ट र पशु क्वारेनटाइन लगायतका कार्यालयहरू समेत यहाँ रहेका छन्।


