चेतन विष्ट, कपिलवस्तु । रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि बाणगंगाको ग्यालेक्सी युथ क्लबले छाडा चौपायाहरुलाई नियोन बेल्ट लगाइदिएको छ । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बाणगंगाका बनगाई, खारखानी, बुङ्ची लगायतका ठाउँमा रहेका करिब ६० बढी छाडा चौपाईलाई नियोन लाईट बाधिएको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सगँ बताउनुभयो ।
चौपायाको घाँटीमा लगाइने उक्त बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको थाहा हुने र यसले गर्दा दुर्घटनाको जोखिमसमेत न्यूनीकरण हुने भएकाले यो कार्य सुरु गरिएको अध्यक्ष गिरीले बताउनुभयो । सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन त्यसैले यसमा सबैले साथ दिनुपर्ने भन्ने सोचले दुर्घटनाको जोखिम न्यूनीकरणमा क्लब लागिपरेको उहाँले बताउनुभयो ।
उक्त कार्यमा क्लबका पदाधिकारी सहित पिपरा ट्राफिक कार्यालय, नगर प्रहरी तथा युवा व्यवसाय तिलक गिरी लगायतको उपस्थिती रहेको थियो ।


