कञ्चन गाउँपालिका: पूर्वाधार र कृषि प्राथमिकतामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देही ।  रुपन्देहीको कञ्चन गाउँपालिकाले पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि विशेष ध्यान केन्द्रित गर्दै अघि बढेको छ। गाउँपालिकालाई तरकारी खेतीको केन्द्र (हब) को रूपमा विकास गर्ने उद्देश्यले “तरकारी विकास मूल्य श्रृंखला” सम्बन्धी परियोजनामा शुक्रबार सम्झौता भएको छ।

यस परियोजनाले व्यवसायिक कृषि उपज उत्पादन, संकलन, प्रशोधन, र बजारीकरणमार्फत आर्थिक रुपान्तरण गर्ने लक्ष्य राखेको छ । सम्झौतामा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. तिर्थराज रेग्मी, र सेतो गुराँस बाल विकास रुपन्देहीबीच हस्ताक्षर भएको छ ।

परियोजनाको कुल लागत रु. २ करोड ८० लाख ३६ हजार हुने बताइएको छ। यसमध्ये कञ्चन गाउँपालिकाले रु. १ करोड ३७ लाख ६० हजार, र हेफर इन्टरनेशनलले रु. १ करोड ४२ लाख ७६ हजार लगानी गर्नेछन्। परियोजना २६ महिनामा सम्पन्न हुने जानकारी प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ढकालले कृषकहरूलाई व्यवसायिक रूपमा एकीकृत गरी कृषि सहकारीमार्फत उत्पादनमा जोड दिने र दिगो आम्दानीमार्फत रोजगारी सिर्जना गर्ने अपेक्षा व्यक्त गरे। उनले जलवायु-मैत्री कृषि प्रविधि अपनाउँदै बजारको मागअनुसार गुणस्तरीय उत्पादन वृद्धि, साना किसानको बजार पहुँच विस्तार, समूह गठन, सहकारीमार्फत उत्पादनको संकलन, प्रशोधन, र बजारीकरणमा विशेष ध्यान दिइने बताए ।

सभामा गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, र आर्थिक विकास समितिका संयोजक केशर बहादुर खत्रीलगायतले परियोजनाको सफलताको कामना गरे ।

कार्यक्रममा कार्यपालिका सदस्यहरू, कर्मचारी, र स्थानीय सहभागी थिए । कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख गिरीराज अर्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *