जनहित अनलाइन, कपिलवस्तु । गायिका एलिना चौहान बिहेपछि बैशाखमा पतिसँग अष्ट्रेलिया उडिन् । उचाइमा पुगेको करिअरलाई लत्याएर उनी विदेश भासिएको चर्चा त्यतिबेला चल्यो ।
तीजमा नेपाल आएकी उनी त्यसयता अष्ट्रेलिया फर्किएकी छैनन् । बरु, स्वदेशमा उनको सांगीतिक ब्यस्तता बढ्दो छ । एकपछि अर्को कार्यक्रम र गीत रेकर्डिङमा उनी ब्यस्त छिन् ।उनका पति चाहिँ अष्ट्रेलियामा फर्निचर ब्यवसाय सम्हालिरहेका छन् । एलिना भने यता नेपालमा करिअरलाई अघि बढाइरहेकी छन् । गत महिना उनले ओशो तपोबनमा विपश्याना ध्यानमा समय बिताइन् । उनी ओशोमार्गी समेत बनिन् ।
त्यो बेलादेखि नै सामाजिक संजालमा उनको वैवाहिक जीवनबारे टिकाटिप्पणी भैरहेका छन् । आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा पनि एलिनालाई युट्युवरको एक समूहले दाम्पत्य जीवनबारेका प्रश्नले पछ्याए । उनले श्रीमान र आफूबीच सबै कुरा राम्रो रहेको र आपसी सहमतिमा काम अघि बढाइरहेको जवाफ दिइन् ।उनले यो सवालजवाफमा पछिल्लो समयका दुई कुरालाई खण्डन प्रयास गरेकी छन् । पहिलो( उनले करिअर छाडेर अष्ट्रेलिया नगएको प्रष्टीकरण दिएकी छन् । उनले अष्ट्रेलिया भासिएको भन्ने हल्लालाई खण्डन गरिन् । दोस्रो( पति पत्नीबीच आएको भनिएको दरारको गसिपलाई उनले खण्डन गरेकी छन् ।
एलिनाको सहभागितामा अमेरिकामा चाँडै सांगीतिक शो हुँदैछ । आइतबार आयोजित ‘अब हाँस्छ अमेरिका, अब सुन्छ अमेरिका र अब नाच्छ अमेरिका’ को कार्यक्रममा उनले भाग लिएकी थिइन् ।
कार्यक्रमबाट बाहिर आएपछि एलिनाले भनिन्, ‘अडियन्सहरुले यत्रो लामो समय किन टाढा बसेको भनेर चिन्ता व्यक्त गर्नुभएको होला । तर, आआफ्नो बाध्यता र काम हुन्छ नि । मैले पनि काम छोडेर चटक्कै उता जान सक्दिनँ । उहाँले पनि मेरो लागि अष्ट्रेलियाको त्यत्रो बिजनेस छोडर आउछु भन्न सक्नुहुन्न । अब मिलाएर हामीले गरिरहेका थियौं । जुन बिहे गर्नुअघि नै सल्लाह गरेका थियौँ ।’
दुई चार महिना टाढिने वित्तिकै सम्बन्ध बिग्रिएको समाचार बनाउन नहुने उनको भनाइ छ । मनको शान्तिको लागि ओशो गएको बताउँदै उनले पतिसँग सम्बन्ध राम्रो रहेको दाबी गरेकी छन् । दाम्पत्य जीवनबारेका प्रश्नमा एलिनाको मुहारमा हैरानी स्पष्ट देखिन्थ्यो ।’ ओनलाइन खबर