अर्घाखाँचीका पर्यटकीयस्थल चिनाउन सुपादेउरालीमा सूचना डेस्क

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । अर्घाखाँचीको परिचयसहित धार्मिक तथा ऐतिहासिक सम्पदाको बारेमा जानकारी दिन सुपादेउरालीमा सूचना डेस्क स्थापना गरिएको छ । धार्मिक पर्यटकीयस्थलका रूपमा चर्चित सुपादेउराली मन्दिरमा आएका तीर्थालुले अर्घाखाँची जिल्लाभरको भूगोल, शक्तिपीठका मन्दिर, गुफा, संस्कृत व्याकरणको उद्गम थलो पाणिनि तपोभूमि, पतञ्जलीको जन्मस्थललगायका प्राकृतिक संरचना र घम्न ठाउँको बारेमा जानकारी पाउनेछन् ।

जिल्लाका ६ स्थानीय तहका ६१ वडाको टोलैपिच्छे यातायात सुविधा छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जिल्लाको पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्री, ब्रोसर तयार गरी सुपादेउरालीमा शनिबारदेखि सूचना डेस्क राखेको हो । माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन कार्यक्रमको सन्धिखर्क टुँडिखेलमा उद्घाटन गरेका थिए । सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा रहेको सुपादेउराली मन्दिरमा पछिल्लो सयम दैनिक दुई सयदेखि पाँच सय जनासम्म तीर्थालु दर्शनका लागि आउँछन् ।

‘सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी दिने उद्देश्य रहेको छ,’ पत्रकार महासंघका अध्यक्ष अशोक खनालले भने, ‘डेस्कमा बस्ने साथीहरूले सदरमुकाम सन्धिखर्क र अन्य पर्यटकी स्थलमा पनि घुम्न जानुस् भन्नुहुन्छ । जिल्लाको परिचयसहित धार्मिक स्थलको इतिहास र जाने लोकेसनका बारेमा जानकारी दिइन्छ ।’ जिल्लाको आर्थिक समृद्धिको लागि पर्यटन प्रबद्धन अभियान सञ्चालन गरिएको खनालले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोरुसिंगे हुँदै करिब ९० किमीको दूरीमा सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख सडक छेउमै नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिर रहेको छ । पाणिनि ऋषिले तपस्य गरी संस्कृत व्याकरण तयार भएको पाणिनि तपोभूमी, खिदिम गुफा, धातीवाङ गुफा रहेका छन् । सुपादेउराली देखि दुई किमी नजिकै चिसो ठाउँ नरपानी, नर्तनाञ्चल पर्वत, खाँची दरबार, अर्घादरबार, जंगबहादुर राणा जन्मेको स्थल मथुरा लामपाटी दरबार, न्वारन गरेको बल्कोट पौवा, छत्रमहाराज मन्दिर, मालारानी मन्दिर, जालकाँडा लेक, नृसिंहस्थान, गोखुंगा पर्यटकीयस्थल रहेका छन् ।

त्यस्तै पतञ्जली जन्मेको जलुके, डमरु दह ठाडा, वाणगंगा धाम, गोही पाइने बराह दह, नौमुरे बहुउद्देश्यी जलविद्युत आयोजना, मसिनाको लेक लगायतका हरियाली डाँडाकाँडाबाट हिमश्रंखला देखिन्छन् । पहाडी जिल्लाको व्यवस्थित सदरमुकाम सन्धिखर्क रहेको छ । जहाँ सरकारी सबै कार्यालय एकै ठाउँ छन् ।

सुपादेउराली मन्दिरमा आएका पर्यटकलाई अर्घाखाँचीका विभिन्न स्थानसहित गुल्मीको रेसुंगा, प्युठानको स्वर्गद्धारी र पाल्पाको रानीमहल जान सकिन्छ । नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटन पनि यहाँबाट पुग्न सकिन्छ ।

जिल्लाका ६ स्थानीय तह, पर्यटन बोर्ड र अन्य निकायको आर्थिक सहयोगमा महासंघले अभियान सञ्चालन गरेको हो । सुपादेउरालीमा स्थापना गरिएको सूचना डेस्कबाट जिल्लाको परिचय, पर्यटकीयस्थल, यसको महत्त्व र इतिहासको बारेमा बुझ्न पाउने र घुम्न जानलाई सहज हुने सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । ‘जिल्लाका पर्यटकीय स्थलमध्ये सबैभन्दा धेरै सुपादेउराली आउँछन्,’ उनले भने, ‘देउरालीमा आएका पर्यटकलाई जिल्लाका अन्य ठाउँमा लैजाने र एकदिन भए पनि बास बसाल्न सकेमा पर्यटनबाट आर्थिक गतिविधि बढ्ने विश्वास छ । यसका लागि स्थानीय तह योजनाबद्ध अगाडि बढेका छौं ।’ -कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *