अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउँदै मायादेवी साझेदारी वन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेवी साझेदारी वनले अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउन सुरु गरेको छ । आज बुधवार बाणगंगा नगरपालिका वडा नम्बर १० मा मा पर्ने दानापुर क्षेत्रमा वन अतिक्रमण गरि बनाइएको खेतमा स्काभेटर प्रयोग गरेर सिमाना छुट्ट्याउन सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी सहितको टिम पुगेर अतिक्रमति जग्गाको सिमाना छुट्ट्याउन थालिएको हो । उक्त कार्यको लागि २ वटा स्काभेटर प्रयोग गरिएको छ ।

वन क्षेत्र खाली गर्न पटक पटक सर्वदलीय सहमति गरिएपनि अतिक्रमण पुर्ण रुपमा हट्न नसकेपछि अहिले केहि ठाउँमा स्काभेटर प्रयोग गरेर सिमाना बनाउन थालिएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले जनहित अनलाइन सङ्ग बताउनुभो । वन क्षेत्र कब्जा गरि खेती गरिएको जमिन र निजि जमिन बिच सिमाना छ्ट्ट्याएर अतिक्रमणमा परेको जमिन फिर्ता ल्याउन थालिएको उहाँले स्पष्ट पार्नुभयो ।

त्यस्तै मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जैसवालले विगत लामो समयदेखि वन अतिक्रमण गरेर खेतिपाती गरिरहेको जग्गामा अब सिमाना निर्धारण गरेरै अतिक्रमण हटाउने बताउनुभयो । अन्य ठाउँमा पनि वन अतिक्रमण भैरहेको भन्दै सबै ठाउँको जग्गा फिर्ता ल्याउने दाबी गर्नुभयो । विश्वभर नै वन क्षेत्र अतिक्रमणमा परिरहेको भन्दै यहाँको अतिक्रमणलाई हटाउन सबै पक्षलाई उहाँले आग्रह समेत गर्नुभयो ।

गत वर्ष पनि दानापुर क्षेत्रमै अतिक्रमण खाली गराउन खोज्दा स्थानीयबासीबाट ठुलो अवरोध भएको थियो । जिल्लाको मात्र वन कर्मचारी र वन रक्षक सहीत डोजर लिएर दानापुरमा पुग्दा ५ सय भन्दा बढी स्थानीयबासीले अवरोध गरेका थिए । तद्यथी अर्को दिन बाहिरी जिल्लाका वन रक्षक, सुरक्षाकर्मी र कर्मचारी बोलाएरै केहि अतिक्रमित जग्गा फिर्ता ल्याउन वन सफल भएको थियो ।

वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकोले सो कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क) विपरीतको कार्य भएकोले सो वन क्षेत्र अतिक्रमण गरी खेतिपाती गरिएको जग्गा वनमै फिर्ता हुने डिभिजन वन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *