काठमाण्डाै । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीचमा प्रतिनिधि सभाको बैठक चलिरहेको छ ।
आज बिहान साढे ११ बजे शुरु भएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गर्नुभएको थियो । तर १५ मिनेटपछि शुरु भएको बैठकमा पनि कांग्रेसले नाराबाजी रोकेन ।
सभामुखले आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गर्नुभयो । बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरे । सभामुखले प्रतिपक्षीलाई पेलेरै कारबाही शुरु गर्नुभयो । उहाँले विश्वासको मत माग्न प्रधानमन्त्रीलाई रोस्ट्रममा बोलाउनुभयो । प्रधानमन्त्रीलाई रोस्ट्रममा पुर्याउन मर्यादापालकको प्रयोग गनुपर्याे ।
प्रधानमन्त्रीले यो सरकारले धेरै राम्रा काम गरेको केही कुरा राखेर विश्वासको मत माग्नुभयो । त्यसपछि विश्वासको मतको समर्थन गर्दै एमालेका विष्णु पौडेलले पनि सत्ता नपाएकोले कांग्रेस अत्तालिएर संसदमा अनैतिक र गैरराजनीतिक क्रियाकलाप गरिरहेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार ढाल्न देशी/विदेशी तत्त्वहरूले खेलिरहेको र कांग्रेस त्यही षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।
एकातिर नाराबाजी र अर्कोतिर विश्वासको मत लिने प्रक्रिया चलिरहँदा प्रतिनिधि सभामा रमिता देखिएको छ ।

