लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य धमाधम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । विकास निर्माणका कामहरू प्रायः सुस्त देखिएका बेला लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य धमाधम गरिरहेको छ।

प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित २०८१ भदौ १५ गतेदेखि १ हजार २०० शय्याको सुविधासम्पन्न यो अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको हो। उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले अस्पतालमा भइरहेको काम हेर्दा स्थानीयहरूमा केही आशा पलाएको बताए।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर (सीईओ) छविराज पोखरेलले साढे १४ महिनामा अस्पतालको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी भएको जानकारी दिएका छन्। निर्माण कम्पनीले दिनरात नभनी सिफ्ट मिलाएर धमाधम काम गरिरहेको उनले बताए। अस्पताल निर्माणको ठेक्का मिति आगामी २०८५ पुससम्म छ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले प्रदेशका चार आयोजनाहरू चलिरहेको उल्लेख गरे । त्यसमध्ये सुरुमा काम थालनी गरिएको देउखुरीको प्रदेश राजधानी निर्माण करिब सकिएको र अहिले प्रादेशिक अस्पतालको निर्माण काम धमाधम भइरहेको बताए।

यस्तै, गौरवको आयोजना रहेको बाँके जिल्लाको प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको चरणमा रहेकाले भौतिक प्रगति भएको छैन भने रामपुर कपूरकोट सडक निर्माण पनि चलिरहेको छ।

उनले तीमध्ये अहिले धमाधम काम भइरहेको आयोजना प्रादेशिक अस्पताल रहेको र बजेट तथा अन्य समस्या समाधानका लागि मन्त्रालय गम्भीर रूपमा लागेको बताए।

कति बजेट?

लुम्बिनी प्रादेशिक अस्पतालका लागि प्रदेश सरकारले ०८०/८१ मा ६० करोड, ०८१/८२ मा १ अर्ब ८० करोड र चालु आव ०८२/८३ मा १ अर्ब विनियोजन गरेको छ।

गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ बराबरको लागत अनुमान गरिएको थियो। तर निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा ५ वर्षमा निर्माण सक्ने गरी ०८० पुस २६ गते भवन निर्माणको ठेक्का पाएको हो। यो ठेक्का अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशीष–रेलिग्रेट भेञ्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा लिएको छ।

उक्त निर्माण कम्पनीले अस्पतालका लागि आवश्यक सम्पूर्ण उपकरणहरू पनि किनेर ‘इन्टेरियर सोलुसन’सहित हस्तान्तरण गर्ने सम्झौता भएको छ। सीईओ पोखरेलले सुरुको वर्ष नियमअनुसार पेस्की रकम दिनुपर्ने र अन्य निर्माण काम पनि सुरुमा धेरै हुने भएकाले पहिलो चरणमा खर्च धेरै आउने हुँदा ठेकेदारले पठाएका बिल नरोक्ने गरी बजेट व्यवस्था गर्ने क्रममा रहेको खुलाए। उनले आयोजनाका लागि बजेट अभाव नहोस् भनेर सरकारसँग पनि छलफल भइरहेको बताए। तर आर्थिक वर्षका लागि विनियोजन भएको बजेट सकिएको उनको भनाइ छ।

के–के भइरहेको छ काम ?

अस्पतालको प्रमुख भवनको आधार हिस्सा र भुइँतलाको ढलान भइसकेको छ। क्यान्सर भवनको पहिलो तलाको छड बुन्ने काम जारी छ। आयोजनाको काम छिटो गर्न प्राविधिक यन्त्र उपकरण प्रयोग गरिएको छ।

दुई वटा क्रेन जडानले सामान ओसारपसार छरितो भइरहेको छ। प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले १० जना प्राविधिक टोलीसहित ३०० जना कामदारले काम गरिरहेको बताए। उनले मजदुरहरूलाई सिफ्ट बनाएर रातदिन काम भइरहेको र अन्य काम आ–आफ्नो ढंगले चलिरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौँ विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौँ युनिक्सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरीवेक्षणको जिम्मा दिइएको छ। यस्तै, पुरानो भवन हटाएर केही साना भवनहरू निर्माण भएका छन्।

कस्तो बन्नेछ अस्पताल?

बुटवलमा ११५ वर्ष पुरानो अस्पतालका पुराना संरचना हटाएर नयाँ भवन निर्माण गरिएको छ।

बुटवल उपमहानगरपालिका–९ मा रहेको ६ बिगाहा १२ कठ्ठा जग्गामा अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण भइरहेको हो। हालको ३०० (समितिबाट थप भएको २०० सहित ५००) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम १ हजार २०० शय्याको क्षेत्रीय बहु–अनुसन्धानात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ।

विशेषज्ञ सेवासहित अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि ०७७ सालमा गुरुयोजना निर्माण गरेको थियो। अस्पतालको मुख्य भवन ‘अन्डरग्राउन्ड’ सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि ‘अन्डरग्राउन्ड’ सहित पाँच तलाको अलग्गै भवन ‘अन्कोलोजी ब्लक’ बन्नेछ। यो एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै प्रकारका सुविधासहितको विशेष अस्पताल हुने मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए।

नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपीडी), आपत्कालीन (इमर्जेन्सी) र इन्डोर सर्भिस कक्ष रहनेछन्।

विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन्।

हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिएको छ।

भवनको माथि हेलिप्याडसमेत रहनेछ। हेलिप्याडबाट सीधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।

अस्पतालले लुम्बिनी प्रदेशको प्रमुख प्रादेशिक अस्पतालका रूपमा सेवा प्रदान गर्दै आइरहेको छ। ३०० बेड सरकारी र १०० बेड अस्पताल विकास समितितर्फ गरी ४०० बेड स्वीकृत भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवाहरूमा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी र मनोरोगको उपचार हुँदै आएको छ।

फार्मेसी, प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजी, ओपिजी, इकोकार्डिओग्राम, आईसीयू, सामाजिक सेवा इकाई र विस्तारित अस्पताल सेवा पनि उपलब्ध छन्।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष अजयमान श्रेष्ठले कोरोना महामारीको बेलामा अस्पतालमा अक्सिजन अभावलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट सञ्चालनमा आएको बताए।

अस्पताल ०७५ सालमा मा प्रदेश सरकारमातहत आएको थियो। अस्पतालमा दैनिक २ हजारभन्दा बढी बिरामीको उपचार हुने गरेको छ।

अहिले पनि अस्पतालले विभिन्न सेवाहरू विस्तार गर्दै नागरिकहरूको विश्वास पनि वृद्धि गर्दै लगेको श्रेष्ठले बताए। यहाँ लुम्बिनी प्रदेशका प्रायः सबै जिल्लाका बिरामी र केही सीमा क्षेत्र भारतबाट समेत बिरामी आउने गर्छन्। अबस्तरोन्नतिपछि नारायणीदेखि सुदूरपश्चिमसम्मका बिरामीलाई सेवा दिइने श्रेष्ठले खुलाए।

प्रादेशिक अस्पतालमा जनशक्ति अभाव, सरोकारवालाको बेवास्ता र उपचारमा ढिलासुस्तीले बिरामी तथा आफन्तले सास्ती भोग्दै आएकाले अस्पताल भवन निर्माण हेर्दा अब हालका समस्या समाधान हुने नागरिकको अपेक्षा रहेको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *