रुपन्देही । शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् ।
वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । त्यसैगरी यहाँस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् ।
स्थानीय उद्यमी चन्द्र खनालले धेरै समयदेखि टोलविकास संस्थाहरुर्ले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहन सुझाएका छन् ।
बुटवलका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताएका छन् ।
उद्योगी अशोक कुँवरले आफ्नो उद्योगमा भएको डुबानले ठूलो क्षति भएको बताए । कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको उनले बताए । कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए ।

