देशभर मनसुन फैलिन अझै सात दिन लाग्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन भित्रिन अझै सात दिन लाग्ने बताएको छ।

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले देशभर फैलिन भने अझै एक साताभन्दा बढी समय लाग्ने महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रीत छ। मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ।

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ।

‘मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ। यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा। काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्। अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताइन्।

महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *