कपिलवस्तु । कपिलवस्तुमा नेपाली कांग्रेसका पुराना र लोकप्रिय नेता हुन् दीपकुमार उपाध्याय । कांग्रेसमा पाँच दशक सक्रिय राजनीति गरेका पूर्वमन्त्री उपाध्यायसँगै छोरा आशिष शर्मा पार्टी राजनीतिमा सक्रिय थिए । निर्वाचनको बेला टिकट वितरणमा कांग्रेसले दुवै जनालाई ‘कर्नर’ मा पारेपछि कपिलवस्तु–१ बाट आशिष अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दीपकुमारको ‘लिगेसी’ले सुशासन, विकास, पारदर्शिता र कपिलवस्तुलाई चिनाउने मुद्दा उठाएर अहिले आशिषले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
जिल्लामा राम्रो राजनीतिक पहिचान समेत बनाएका युवा नेता शर्माको उम्मेदवारीले यो क्षेत्रको चुनावी सरगर्मी झनै पेचिलो बनेको छ । यो क्षेत्रमा अहिले राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र आशिष शर्माको चर्चा सुनिन्छ । यहाँ कांग्रेसबाट अतहर कमाल मुसलमान, एमालेका विश्रामप्रसाद चौधरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोहनलाल आचार्य उम्मेदवार छन् । शर्माले ऐतिहासिक जिल्ला कपिलवस्तु भएपनि छायाँमा परेको भन्दै यसको पहिचान र परिचय बदल्ने लक्ष्यसहित चुनावी अभियानमा होमिएको बताए ।
शर्मा राजनीति बुझेका युवामध्येमा शालीन र अनुशासित मानिन्छन् । जिल्लामा अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारिता उनको अर्को परिचय हो । निष्ठावान्, जिम्मेवारीमा प्रतिबद्ध, समन्वयकारी स्वभाव, सत्यका पक्षपाती र सुशासनका माध्यमबाट उनले विशिष्ट पहिचान बनाएका छन् । कतिपय युवाहरूलाई राजनीतिमा व्यापार गरेको, पद, शक्ति र इमानसमेत दुरुपयोग गर्ने गरेको आरोप लाग्छ । तर उम्मेदवार शर्मा यस्ता आरोपबाट सधैँ मुक्त रहन्छन् ।
शर्माले व्यवसायमा पनि अनुभव हासिल गरेका छन् । व्यवसायिक कृषि खाका बनाउने, समृद्धिका आधार तयार पार्ने, आधार साकार पार्नका लागि आवश्यक कार्यक्रम तयार पार्ने काममा उनको समेत नेतृत्वदायी भूमिका रहेको छ ।
युवाको उद्यमशीलतामा आफ्नो जोड समेत रहेको शर्माले बताए । आफू कपिलवस्तु–१ का जनताको आर्सीवादले जित हासिल गर्ने शर्माले विश्वास व्यक्त गरे । उनी अहिले घरदैलोमा केन्द्रित छन् । उनलाई धेरैले सद्भाव समेत दिएका छन् । शर्मा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिमा लागेका थिए । कांग्रेसभित्र संगठनात्मक बल र जनाधार दुवै रहेको दाबी गर्ने शर्माको स्वतन्त्र उम्मेदवारीलाई कपिलवस्तुको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
व्यावसायिक जीवनमा समेत सशक्त पहिचान बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरेका छन् । १४ वर्षभन्दा बढी समय वित्तीय सेवा र व्यावसायिक क्षेत्रमा काम गरेका उनले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालिसकेका छन् । निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभवलाई सुदृढ मानिन्छ । संस्थागत नेतृत्वको तहमा शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध छन् । नेपाल व्यवस्थापन संघका सदस्य तथा विभिन्न कम्पनीका बोर्ड सदस्य र सञ्चालकको भूमिकामा उनले सुशासन र उत्तरदायी नेतृत्वको अभ्यास गरिसकेका छन् ।
कपिलवस्तु जिल्लालाई आफ्नो कर्मभूमि बनाएका शर्माले यहाँको कृषि र आर्थिक सम्भावनामा दीर्घकालीन लगानी पनि गरेका छन् । बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रालि’ का प्रबन्ध निर्देशकका रूपमा उनी कार्यरत छन् । शर्माको राजनीतिक उदयसँगै कपिलवस्तुमा पुस्तान्तरणको बहस सुरु भएको छ ।
युवाशक्ति र अनुभवको संयोजनमार्फत कपिलवस्तुको समृद्धि सम्भव छ भन्ने उनको दाबी छ । यही कारण कपिलवस्तुका धेरै युवाले उनलाई जेनजी पुस्ताको प्रतिनिधि पात्रका रूपमा हेर्न थालेका छन् । कपिलवस्तु–१ मा यो निर्वाचन केवल जितहारको प्रतिस्पर्धा मात्र नभइ पार्टीभित्रको निर्णय प्रक्रिया, पुस्तान्तरण र नयाँ नेतृत्वप्रतिको जनअपेक्षाको परीक्षणसमेत बन्न पुगेको छ । शर्माको स्वतन्त्र उम्मेदवारीले यो निर्वाचनलाई साधारण राजनीतिक प्रतिस्पर्धाबाट बाहिर निकालेर अर्थपूर्ण राजनीतिक सन्देश बोकेको चुनावमा रूपान्तरण गरिदिएको छ ।


