जोखिमयुक्त क्षेत्रबाट नेपाली श्रमिक स्थानान्तरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ ।  खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्प र जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली श्रमिकलाई रोजगारदाताले सुरक्षित स्थानमा सारेका छन् । इरानले निसाना बनाउन सक्ने स्थानमा रहेका श्रमिकलाई सुरक्षित ठाउँमा सारिएको हो ।

अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य क्याम्पलाई निसाना बनाइरहेको छ । सबैभन्दा पहिला बहराइनस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिएको थियो । ‘हामीलाई आक्रमण गर्नु दुई दिनअघि नै अरू स्थानमा लगेर राखिएको थियो । अहिले हामी सुरक्षित छौं,’ बहराइनको अमेरिकी सैन्य क्याम्पमा कार्यरत एक नेपालीले भने, ‘हामी परिवारसँग नियमित सम्पर्कमा छौं ।’ बहराइनले अमेरिकी क्याम्प आसपासबाट सबैलाई स्थानान्तरण गरिसकेको छ । बहराइनमा भएको आक्रमणमा एक एसियाली श्रमिकको मृत्यु भएको थियो । कतार, कुवेत, साउदी अरब, ओमान, जोर्डन र इराकस्थित अमेरिकी सैन्य क्याम्पमा कार्यरत नेपाली श्रमिक पनि स्थानान्तरण भएका छन् ।

इराकको कुर्दिस्तानस्थित अर्बिल विमानस्थलमा रहेका एक सय ५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । खाडी क्षेत्र हेर्ने परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार उनीहरूलाई होटलमा राखिएको छ । इरानले अर्बिल विमानस्थलस्थित अमेरिकी बेस क्याम्पमा पनि आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *