कोइला बालेर सुतेका आमा र छोराको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन कपिलवस्तु । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती हुनुहुन्छ। गम्भीर घाइते नौ वर्षीया रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।

‘बुधबार राती खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘प्रहरी पुगेर ढोका फोडेर उहाँहरुलाई तत्कालै अस्पताल पुर्याइएकोे थियो। तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरिदिनुभयो तर रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ।’

सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोइला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। कोठामा कोइला बाल्दा अक्सिजनको मात्रा कम भएकाले निसासिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *